डम्मर बुढा मगर, बागलुङ
बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सेवा सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु दिनप्रति दिन सुनसान बन्दै गएका हुन् । स्थानीय तहले गाउँसम्म विकास पु¥याए पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् ।
शिक्षा, स्वास्थ्य, यातायात, विद्युत लगायत विकासका पूर्वधारले दूर दराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पु¥याउने मान्छे नपाइने उहाँको भनाइ छ । बसाइँसराइले गाउँ उजाडिदा खेतीयोग्य जमिन वनमाराले ढाकिएको भन्दै दुःख व्यक्त गर्नु भयो ।
पुनले भन्नुभयो – “यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, धनीमानीहरु सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवा ठिटा विदेश छन्, हामी बुढाबुढी भइयो, गाउँमै जन्मियौँ, गाउँमै हुर्कियौँ र गाउँमै दुःख गरियो, अब गाउँमै मर्ने, यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने ? हाम्लाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो ।”
गलकोट नगरपालिका–५ की मायादेवी श्रीसले नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिती आउनु बताउनुहुन्छ । दश वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले आपतविपद्मा सहयोग गर्ने समेत नपाइने उहाँको भनाइ छ । पहिले सेवा सुविधा नहुँदा धेरै मान्छे गाउँमै बसे पनि अहिले विकास हुँदा पनि बसाइँसराइ बढेको श्रीस बताउनुहुन्छ ।
“पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नुन, तेल, चामल बोकेर ल्याउनु पथ्र्यो, खानेपानी ल्याउनका लागि घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ,” उहाँले भन्नुभयो – “गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँसराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भयो ।”
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बसाइँसराइ रोक्नका लागि गाउँमा रोजगार सिर्जना गर्न थालेको बताउनुभयो । युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम संचालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको समेत व्यवस्था गरेको उहाँको भनाइ छ । गाउँबाट धेरैजसो शिक्षा र स्वासथ्यका लागि बसाइँसराइ गर्ने गरेको हुँदा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइ रहेको र स्वास्थ्य क्षेत्र पनि सुधार गरि रहेको प्रवक्ता भण्डारी बताउनुहुन्छ ।