सम्पादकीय
पहिले पहिले बालबालिकालाई पढाइन्थ्यो, सिकाइन्थ्यो, आफ्नै ठाउँमा पढ्ने, लेख्ने अनि ठुलो मान्छे बन्ने । तर, पछिल्लो समय पढ्ने लेख्ने ठुलो मान्छे बन्ने भन्दा पनि जे जसरी हुन्छ विदेश पठाउने र पैसा कमाउनेमा नेपाली समाज उद्दत देखिन्छ । यही कारण समाजमा एक उक्ति चर्चित बनिरहेको छ, १० पास गरे हलो छोड्छन्, १२ पास गरे थलो छोड्छन्, थलो अर्थात् देश । यो क्रम झन् भन्दा झन् बढ्दो क्रममा छ । अहिले संघीय राजधानी काठमाडांैका बागबजार, पुतलीसडक, बसपार्क सेरोफेरोमा कक्षा १२ उत्तिर्ण गरेर विदेश जानका लागि लालायित तरुण तन्नेरीहरुको भिड देखिन्छ, उस्तै भिड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । यही क्रम र प्रवृत्ति रहिरहने हो भने यसले भोलिका दिनमा हाम्रा क्याम्पस, विश्वविद्यालयहरुमा विद्यार्थीको संख्यामा खडेरी लाग्ने खतरा छ ।
पछिल्लो तथ्य र तथ्यांकले पनि यसलाई बल पु¥याउँछ । आयोगको तथ्यांकअनुसार हाल देशभर जम्मा एक हजार ४३२ वटा क्याम्पस छन् । एक अध्ययनमा देशका पाँच सय भन्दा धेरै क्याम्पसमा विद्यार्थीको अभाव देखिएको छ । विश्वविद्यालय अनुदान आयोगले एक साता अघि तयार पारेको प्रतिवेदन अनुसार एक सयभन्दा थोरै विद्यार्थी रहेका देशभर सबै विश्वविद्यालय मातहतका पाँच सय पाँच वटा क्याम्पस छन् । हाल सयभन्दा कम विद्यार्थी भएका क्याम्पसमध्ये १७८ वटा सामुदायिक, १९ वटा आंगिक र ३०८ वटा निजी क्याम्पस छन् । तीमध्ये ५०५ मा सयभन्दा थोरै विद्यार्थी छन् । हाल विश्वविद्यालयहरूका आंगिक क्याम्पस १६४ छन् । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसको संख्या ५४० भन्दा बढी छन् । ७२३ निजी क्याम्पस छन् । देशभर कुल २१ विश्वविद्यालय छन् । जसमध्ये १४ विश्वविद्यालय मातहत चलेका सामुदायिक र आंगिक क्याम्पसमा पछिल्लो समय विद्यार्थीको संख्या असाध्यै न्यून हुँदै गएको छ । खास गरेर कक्षा १२ को पढाइपछि बिदेसिने विद्यार्थीको संख्या बढ्दै जाँदा त्यसको असर नेपालका क्याम्पसहरूमा देखिएको अध्ययनको ठहर छ ।
क्याम्पस र विश्वविद्यालयहरुमा मात्र होइन, प्राथमिक, आधारभुत र माध्यमिक तहका कक्षामा पनि विद्यार्थी अनुपात घट्दो छ । यसरी शैक्षिक संस्थामा विद्यार्थी घट्नुमा वैदेशिक आकर्षण र बाध्यता मुख्य कारक हो नै, यसका अतिरिक्त अरु धेरै आन्तरिक कारण छन् । हुन त अहिले पनि त्रिविका क्याम्पसहरूमा करिब चार लाख ९१ हजार र अन्य विश्वविद्यालय मातहतका क्याम्पसमा दुई लाखहाराहारी विद्यार्थी छन् । अन्यको तुलनामा त्रिविमा विद्यार्थी संख्या बढी नै छ । तर, यस वर्ष स्नातकोत्तर तहको भर्नादेखि नै त्रिविका क्याम्पसमा विद्यार्थी संख्या कम हुन थालेको छ । आयोगले यी क्याम्पस गाभ्न वा बन्द गर्न विश्वविद्यालयहरुलाई सुझाव पनि दिएको छ । त्रिविअन्तर्गतका ३५ वटा क्याम्पस गत वर्ष गाभिएका थिए । विद्यार्थी घट्दै गएमा क्याम्पसको जग र अस्तित्व नै धरापमा पर्ने खतरा छ । यसले नेपाली समाजमा अनेकन जटिलता र संकट ल्याउने निश्चित छ । तसर्थ, तीन तहको सरकारले क्याम्पस, विश्वविद्यालयहरु विद्यार्थी विहीन बन्ने सम्भावित जोखिमका विषयमा तत्काल यथोचित पहलकदमी लिनु अपरिहार्य छ ।