सम्पादकीय
स्वास्थ्य जीवनकै सर्वाधिक महत्वपूर्ण अंग र क्षेत्र हो । स्वास्थ्यको सर्वोत्तम विकास विना जुनसुकै विकास, प्रगति र समृद्धि असम्भव प्रायः छ । कुनै पनि देशको अवस्था कस्तो छ भन्ने कुरा त्यो मुलुकको स्वास्थ्य क्षेत्रको स्तर र गुणस्तर कस्तो भन्ने कुराले अधिक निर्धारण गर्दछ । स्वास्थ्य क्षेत्र मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र हो । स्वस्थ जीवनको लागि आधारशिला निर्माण गर्ने, सम्भावित रोगहरुको रोकथाम तथा नियन्त्रण गर्ने,बिरामीहरुको उपचार गर्ने जस्ता विविध विषय जोडिएको यो अत्यन्त महत्वपूर्ण र संवेदनशील क्षेत्र हो । हरेक खाले विकास निर्माण र अध्ययन अनुसन्धानको केन्द्रमा मानव जीवन हुन्छ । उत्पादन, प्रविधि, गुणस्तर लगायतका हरेक सवालहरुको केन्द्र बिन्दुमा मानव स्वास्थ्य हुन्छ । त्यसैले मानव स्वास्थ्यलाई अत्यन्त संवेदनशील सूचिमा राखिएको छ । यही संवेदनशीलता र नागरिक अपेक्षालाई समेत मध्यनजर गर्दै राज्यले स्वास्थ्य क्षेत्रलाई संविधानमै मौलिक हकको रुपमा दर्ज गरेको छ ।
नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा ३५ मा “स्वास्थ्य सम्बन्धी हक” राखिएको छ । जसमा मुख्य तिन वटा बुँदा छन् । पहिलो प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । दोस्रो, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । तेस्रो, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । साथै धारा ५१ को ‘ज’ मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति उल्लेख गरिएको छ । जस अन्तर्गत नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा लगानी अभिवृद्दि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज,सुलभ र समान पहुँच सुनिश्चित गर्ने,स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्दि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने लगायत उल्लेख छ । तर, यी र यस्ता महत्वपूर्ण बुँदाको कार्यान्वयनमा सरकारले प्रभावकारी काम र कदम चाल्न सकिरहेको छैन । यद्यपि, गण्डकी प्रदेश सरकारले प्रदेशमै पहिलो पटक (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोज पड्तालका लागि सञ्चालित यो मेसिन र सेवा बागलुङको गलकोटबाट शुभारम्भ भएको छ । गलकोट नगरपालिका–११ रिघा स्वास्थ्य चौकीमा आयोजना गरिएको एक्सरेद्वारा छाती रोग खोज पड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गरेका छन् । अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्वारा छाती रोगको समस्या पहिचान र उपचारका लागि यो सहयोगी हुने अपेक्षा छ ।
समय गतिशील छ, प्रविधिको विकास तिव्रतर गतिमा छ । जनअपेक्षा र आवश्यकता पनि सोही किसिमले महत्वकांक्षी बनिरहेको छ । तर, आम जनअपेक्षा र आवश्यकता अनुकुल स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनमा ठोस कदम तीनै तहको सरकारले उठाउन सकेको छैन । स्वस्थ वातावरण, स्वस्थ समाज, निरोगी नागरिक, स्वास्थ्य संस्थाहरुमा सहज, सुलभ, समान पहुँच सहितको छिटोछरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न चाहनु नै नागरिक अपेक्षा हो । स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्ने,स्वास्थ्यमा सर्वव्यापी पहुँच कायम गर्ने लगायतका राज्यले गरेका प्रतिबद्दता पनि निशर्त पुरा गर्नुपर्ने आवश्यकता छ । अहिले कायम रहेको संवैधानिक तथा कानुनी व्यवस्थामा,कार्यान्वयन ईकाईलाई साधन श्रोतले पूर्ण बनाउँदै नागरिकलाई व्यवहारमै हक अधिकार प्रदान गर्नुपर्नेछ । तर आजको अवस्था र नागरिकका अपेक्षा बीचमा विभिन्न समस्या कायम छन् । अहिले गण्डकी प्रदेश सरकारले समय सापेक्ष आधुनिक प्रविधिमैत्री सेवाको पहुँच जनस्तरमा पु¥याउन सके मात्रै राज्यको गहिरो अनुभूति हुनेछ ।