क्रिकेट प्रिमिर लिग : एक सुखद सुरुवात

सम्पादकीय
नेपालमा क्रिकेट खेल प्रतिको आकर्षण बढेको उति लामो समय भएको छैन । केही वर्ष अघि सम्म पनि भारतमा सर्वाधिक लोकप्रिय खेललाई लिएर नेपालका अधिक मानिसले क्रिकेट खेल मुर्खले खेल्ने, महामुर्खले हेर्ने भनेर टिप्पणी गर्थे, र यसै बुझ्थे । यसो भन्नुका पछाडि यो खेल अरु खेल जस्तो केही मिनेट, क्षणमा सकिने खेल होइन, यसका लागि अलि लामो समय र घण्टा लाग्छ, दिन लाग्छ । यसकारण पनि क्रिकेट खेल लिएर नाक खुम्च्याउने धेरै थिए । तर, पछिल्लो केही वर्षकै अन्तरालमा क्रिकेट खेल प्रति हेर्ने आम नेपालीको धारणा मात्र बदलिएको छैन, नेपालमै क्रिकेट खेलको विकास र क्रेज उल्लेख्य मात्रामा बढेको छ । अहिले त यस्तो लाग्छ कि नेपाली क्रिकेटले सिंगो देशलाई जोड्नमा एक महत्वपूर्ण कडीको रुपमा काम गरेको छ ।

यतिबेला सोही क्रिकेट खेलको ऐतिहासिक अध्याय आरम्भ भएको छ । नेपाली क्रिकेट इतिहासकै ठुलो महोत्सवको रुपमा शनिबारदेखि नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएको छ । आठ फ्रेन्चाइज टिम, ४० विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण र एक अर्ब भन्दा बढी खर्च हुने यस प्रिमियर लिग सुरु हुँदै गर्दा सिंगो नेपाल र नेपाली उत्साहित भएको प्रतीत भइरहेको छ । एनपिएलले मुलुकको संघीय संरचनाको समेत प्रतिनिधित्व गर्दै छ । सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स, कर्णालीबाट कर्णाली याक्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, गण्डकीबाट पोखरा एभेन्जर्स, बागमतीबाट चितवन राइनोज, मधेशबाट जनकपुर बोल्ट, कोशी प्रदेशबाट विराटनगर किंग्स र संघीय राजधानी समेत भएकाले काठमाडौंबाट एक टिम (काठमाडौं गुर्खाज)ले प्रतिनिधित्व गरेका छन् । कुल ३२ खेल हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । निजी क्षेत्रले दिल खोलेर एनपिएलमा लगानी गरेको छ । हरेक टिमका मालिकले प्रतियोगिता सम्पन्न गर्न १० देखि १४ करोडसम्म खर्च हुने अनुमान गरिएको छ । टिम खरिदमा मात्रै एक करोडदेखि साढे तीन करोडसम्म खर्च गरिएको छ । करोड बढीको पुरस्कार राखिएको छ, अक्सनमा खरिद गरिएका खेलाडीलाई समेत आकर्षक पुरस्कार, गाडीको व्यवस्था गरिएको छ । निजी क्षेत्रको उत्साहजनक संलग्नता तथा लगानीले क्रिकेटलाई एउटा बलियो उद्योगमा रूपान्तरण गर्ने शुभ संकेत छ ।

छोटो समयको क्रिकेट इतिहास, सीमित स्रोत साधन र पूर्वाधारबिच पनि नेपाल प्रिमियर लिग आयोजना गरेर क्यानले नेपालको खेल क्षेत्रलाई थप व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन सकिने सामथ्र्य र सन्देश प्रवाह गरेको छ । यसका लागि क्यान र यसको नेतृत्व धन्यवादको पात्र छन् । नेपालबाटै चर्चित स्पोर्ट च्यानलमा अब विश्वका क्रिकेटप्रेमीले एनपिएल हेर्दैछन्, दसौँ हजार दर्शक त्रिवि मैदानमा उत्साहका साथ उपस्थित छन् । अवश्य पनि एनपिएल मार्फत अनेकौँ आरोह–अवरोह झेलिरहेको नेपाली खेल क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ । नेपाली क्रिकेट खेल उद्यमका रूपमा विकास गराउन भूमिका खेलेको छ । खेल जगतमा सुन्दर भविष्यको आशा र व्यापक उत्साह पनि जगाएको छ । सातै प्रदेशको प्रतिनिधित्व गर्ने एनपिएल लिग खेलाडी र आयोजकमा मात्र सीमित छैन । क्रिकेटप्रेमी दर्शक, निजी क्षेत्र र कला क्षेत्रलाई जोड्ने महत्वपूर्ण पुल समेत बनेको छ । अब भव्यताका साथ सुरु भएको एनपिएल भव्यतापूर्वक नै सम्पन्न गर्न सके यसले त्रिकेटको मात्र नभई नेपालको पर्यटन विकास र अर्थतन्त्रमा पनि ठुलो योगदान पु¥याउने निश्चित छ । यसले निःसन्देह नेपाली खेलकुदलाई नै नयाँ उचाइमा पु¥याउन एक कोशे ढुंगाको रुपमा काम गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *