आदर्श अनलाइन, बागलुङ
बिहुँमा काठेखोला गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मीडिया प्रा.लि बागलुङको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले पालिकामा सुशासन अभिवृद्धिको लाग आफुहरु निरन्तर लागि परेको बताउनुभयो । उहाँले गाउँपालिकाको विकासको लागि निरन्तर संघर्षरत रहेको बताउनुभयो । नागरिकबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ दिदै उनले समृद्ध काठेखोला गाउँपालिका निर्माणको लागि सबै एक भएर लाग्न समेत आग्रह आग्रह गर्नु भयो ।
उपाध्यक्ष तेज बहादुर थापाले पालिकाका योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न थालेको बताउनुभयो । योजनासँग पालिका भित्र रहेका बजारको समेत अनुगमन गरि आम उपभोक्ता ठगिनबाट जोगाउने कार्य गरि रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले पहिलाे चाैमासिकमा भएकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रममा २० जना नागरिकले पालिका भित्रका आयोजनाकहरु प्रभावकारी नभएको गुनासो गरेका थिए । उनीहरुले काठेखोला रिङरोड निर्माणमा ढिलाई भएको भन्दै नागरिकलाई सिपमुलक तालिम उपलब्ध गराइनु पर्नेमा जोड दिएका थिए ।
नागरिकहरुले प्रशासकीय भवन नबन्नुका कारण, सुशासन, खानेपानी, बाटो लगायतका विभिन्न विषयमा प्रश्न, जिज्ञासा र सुझावहरु राखेका थिए ।
कार्यक्रममा पत्रकार संगम घर्ती मगरले पालिकाको सेवा प्रवाह सम्बन्धमा तयार गरिएको नागरिक सन्तुष्टी सर्वेक्षण प्रस्तुत गर्नु भएको थियो । पत्रकार डम्मर बुढा मगरले सार्वजनिक सुनुवाई सम्बन्धी आचारसंहिता प्रस्तुत गर्नु भएको थियो भने पत्रकार खेमराज गौतमले टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सहजीकरण गर्नु भएको थियो ।