लन्डनमा नमिलेको खुसी भैँसीगोठमा : दुध बेचेर वार्षिक २० लाख कमाई

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरशे कँडेल १० वर्ष अगाडि लन्डन पुग्नु भयो । रोजगारीका लागि विदेशमा राम्रो कमाई हुने आशले लण्डन पुग्नु भएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किनु भयो । विदेशको दुःख देखेपछि स्वदेश फर्किनु भएको उहाँले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गर्नु भयो । होटल व्यवसाय राम्रो भए पनि उहाँलाई गाउँघरको यादले सताई रह्यो ।

आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत वि.सं. २०७७ सालमा गाउँ फर्कनु भयो । उहाँ गाउँ फर्कने समयमा देशभर कोरोना संक्रामणको फैलदो थियो । कोरोना संक्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दुध विक्री गर्दै आउनु भएको थियो । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो ।

अनुदानमा पाएको भैँसीले सुरेशलाई दुध उत्पादनमा लाग्ने हौसला दियो । उहाँले थप दुई वटा भैँसी लिएर व्यवसायिक रुपमै दुध उत्पादन गर्ने निधो गर्नुभयो । अहिले उहाँ जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानको रुपमा परिचित हुनुहुन्छ । सुरेशको भैसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ ।

अहिले उहाँलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उहाँले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यवसायिक रुपमा दुध उत्पादनमा लागेका छन् । कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फर्म दर्ता गर्नु भएका कँडेलले वार्षिक १५ हजार लिटर दुध बजारमा विक्री गर्दै आउनु भएको छ ।

दुई लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म २५ लाख बढस् लगानी गरि सक्नु भएको छ । उहाँको फर्ममा हाल सात वटा उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दुध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दुध विक्री गर्दै आउनु भएको छ । विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सक्ने उहाँको भनाइ छ ।

लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताउनुभयो । विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उहाँको भनाइ छ ।

“विदेशमा गएपछि सजिलै कमाई हुन्छ भन्ने सोचेको थिए, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किए, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो,मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ” कँडेलले भन्नुभयो –“अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चताप छैन, मैले जे गरे ठिक गरे जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दुध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनमाभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।”

कँडेलले गाउँमा सहर बजारमा भन्दा केही दुःख भए पनि संभवना धेरै रहेको बताउनुभयो । पछिल्लो समय धेरै युवाको रोजाई विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश)मा गर्ने दुःख आफ्नै पाखा पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उहाँको भनाइ छ । भैँसी पालेर दुध विक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *