गाउँपालिका अध्यक्ष थापाको भावुक स्टाटसः परिस्थिति बदलिए पछि रमाउला

आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले एका बिहानै भावुक सन्देश दिएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बागलुङकी एक किशोरी प्रभावित भएको पुष्टी भएको दोस्रो दिन अध्यक्ष थापाले विदेशबाट आएकाहरुलाई एकान्तवासमा बस्न आग्रह गर्दै यस्तो स्टाटस लेखेका हुन् ।

उनले वैदेशिक रोजगारीबाट आएकाहरुलाई आफ्नो र छिमेकीहरुको स्वास्थ्यलाई ख्याल गरी एकान्तवासमा बस्न आग्रह गरेका छन् । फ्रान्सबाट आएकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिए पछि सरकारले विदेशबाट आएकाहरुको निगरानी बढाउन थालेको छ । काठेखोला गाउँपालिकाले सबै वडामा पछिल्लो समय विदेशबाट आउनेको सूची तयार गरी घरमै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको छ । उनीहरुलाई सचेत रहन आग्रह गर्दै अध्यक्ष थापाले आफ्नो फेसवुक पेजमा लेखेका छन्, यो विपत्तीको अवस्थालाई ख्याल गरेर एकान्तवासमै बसी दिनु होला ।

कोरोना संक्रमणको अवस्था शुरु भएपछि काठेखोला गाउँपालिकाका ८ वटा वडामा ४६ जना व्यक्ति भारत लगायत विभिन्न देशबाट आएका छन् । बेल्जियमबाट फर्केकी एक किशोरीमा कोरोना भाइरस संक्रमण पुष्टी भएका भोली पल्ट बिहान अध्यक्ष थापाले विदेशबाट आएकाहरुलाई सतर्क रहन तथा आफु र आफन्तको स्वास्थ्यलाई ख्याल गरी एकान्तमा बसेर सहयोग गर्न आव्हान गरेका हुन् । उनले परिस्थिति बदलियो भने पहिले जस्तै रमाउला, संगै बसौला भन्दै परिस्थितिलाई बुझ्न आग्रह गरेका छन् ।

यस्तो छ, अध्यक्ष थापाले फेसबुक पेजमा गरेको आग्रह:
‘विदेशबाट आउने दाजुभाई तथा दिदीबहिनीहरु तपाई जन्म घरमा आउदा कति रमाइलो हुन्छ, तपाईले परिवारलाई ल्याइदिएका कोशेलीहरु कति हाँसी खुशी ग्रहण गर्दथ्यौ, यति मात्र हैन हामी छिमेकीहरु तपाईले दिएका मिठाई गालामा च्यापेर अरु साथीहरुलाई देखाउदै सिंगो गाउँभरी रमाउदै जान्थ्यौ तर अहिले फरक परिस्थिति बनेको छ । तपाई घरमा आउदा तपाईको परिवारले समेत राम्रोसंग देख्न पाएका छैनन होला । हामी विवश छौ, तपाईलाई एकान्तमा राख्न, परिस्थितिवश देशमा ठुलो महाविपत्ती आइ लागेको छ । यसलाई अन्यथा नमानी आफ्नो स्वास्थ्यको साथै परिवार र वरिपरीका छिमेकीहरुको स्वास्थ्यलाई ख्याल गरी एकान्तवासमा बसी दिनुहोला । परिस्थिति बदलियो भने फेरी पहिले जस्तै रमाउला, संगै बसौला है दिदी बहिनी दाजु भाईहरु ।’

यो पनि पढ्नुहोस्