आदर्श अनलाइन, बागलुङ
धादिङका कम बहादुर तामाङ सुन्तला खरिदका लागि बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले ९ जना सुन्तला किसानको सुन्तला एकमुष्ठ खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ । अहिले तामाङ जस्ता सुन्तला ब्यापारी सिगानाका सुन्तला किसानको घर–घरमा पुगेका छन् ।
सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैचा ठेक्कामा खरिद गरेर नारायणगढ पठाएको सुन्तला व्यापारी कम बहादुर तामाङको भनाई छ । उहाँले ९ जना किसानलाई सुन्तला खरिदबापत एक मुष्ट रु. १२ लाख बुझाएको बताउनुभयो ।
तामाङले कामदार खटाएर सुन्तला टिपेर १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिनुभयो । “सिगानाको सुन्तला नारयणगढमा राम्रो माग छ, यो सिजनमा सुन्तलाको कारोबार गरेर दुई÷चार लाख कमाइन्छ” सुन्तला खरिदका लागि सिगाना आउनुभएका तामाङले भन्नुभयो “किसानले रकम मात्रै बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजानेकाम हामी आफै गछौं सुन्तला फलाउने किसानलाई बसी बसी आम्दानी छ ।”
तामाङले एउटै बगैचालाई तीन लाखसम्म रकम तिरेर सुन्तला खरिद गरेको बताउनुभयो । सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् ।
शुरु–शुरुमा डोके व्यापारीलाई केजीमा बिक्रि गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैचाका सुन्तला एकमुष्ठ बिक्री गर्न थालेको सुन्तला किसान अनन्त बहादुर खड्काले जानकारी दिनुभयो । खड्काले पहिला आफै टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले सुन्तला ब्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिनुभयो । खड्काले सुन्तला बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । शिक्षकबाट अवकास प्राप्त खड्काको सुन्तला बगैचामा २०० सुन्तलाका बोटमा लटरम्म सुन्तला फलेका छन् ।
खड्का मात्रै हैन सिगानाको राम प्रसाद गौतम, राधा खड्का, गंगा केसी, राम बहादुर टोप बहादुर खत्री र शिव कुमार खड्का लगायतको सुन्तला ठूला शहरमा खपत हुने गरेको छ ।
यहाँका सुन्तला चितवन, धादिङ, काठमाण्डौ, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्न सके बजारको समस्या नरहेको सुन्तला किसान गंगा केसीले बताउनुभयो । उहाँले सुन्तला उत्पादन गर्न सके बोटबाटै बिक्री गर्न सकिने जानकारी दिनुभयो ।
धादिङ, काठमाण्डौ, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले एउटा बगैचाको एक लाख देखि ५ लाख सम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसाननै एक सयको हाराहारीमा रहेका छन् ।
सिगानाको सुन्तला यस वर्ष छिटो बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिनुभयो । उहाँले सिगानामा वार्षिक साढे तीन करोडको सुन्तला बिक्री हुने आकलन रहेको जानकारी दिनुभयो । अन्य स्थानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मुल्य तिरेरै भएपनि सिगानाको सुन्तला खरिद गर्न व्यापारीहरु आउने गरेका छन् ।