आदर्श अनलाइन, बागलुङ
यस वर्षको पहिलो सिकार याममा १० नाउर र ५ झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र ८ झारलको सिकार गर्न चार कम्पनी मार्फत १२ विदेशी सिकारले अनुमती प्राप्त गरेका थिए ।
जसमध्ये १ नाउर र तीन झारलको सिकार असफल भएको छ भने एक नाउरको सिकार गर्ने अमेरिकी सिकारी नेपालनै नआएको आरक्षले जनाएको छ ।
एउटा नाउर मार्नका लागि अनुमती प्राप्त सिकारी आउन सक्नुभएन भने अर्को नाउर सिकार गर्न सिकारी असमर्थ भएर रित्तो हात फर्कनुभएको छ । यस्तै ८ झारलको अनुमती पाएपनि तीन झारल मार्न सिकारी असमर्थ भएर फर्केको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।
जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सीकोका १२ व्यावसायिक सिकारीले अनुमती प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो ।
यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाई छ । ७ बनेलको सिकार अनुमती पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाई छ । ढोरपाटन क्षेत्रमा बर्सेनी (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।
सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामका लागि १२ नाउर ८ झारल र ७ बनेलको सिकार अनुमति दिएकोमा १० नाउर र ५ झारलको सिकार भएको र २ नाउर र ३ झारलको सिकार गर्न सिकारी असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले जानकारी दिनुभयो ।
उहाँले बनेल सिकार गर्न बिदेशीले रुची नदेखाएको जानकारी दिनुभयो । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमती खुल्ला गरेपनि आवेदन नपरेको उहाँको भनाई छ ।
चौधरीका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रा.ली.ठमेल, काडमाण्डौ, नेपाल ट्राभल एक्पेडिसन प्रा.लि.जावलाखेल ललितपुर, हिमालयन वाईल्डलाईफ आवटफिटर्स, स्युचाटार, काठमाण्डौ र ओपन नेपाल वाइल्डलाईफ सफारिज ट्रेक प्रा.ली. कम्पनी मार्फत १२ सिकारीलाई अनुमती दिएकोमा ११ सिकारी सिकार आरक्षमा सिकार खेल्न आएका थिए ।
सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टर मार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् ।
खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम १८ लाख सम्म राजश्व संकलन भएको आरक्ष कार्यालयको भनाई छ ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब रु. २० देखि ३० लाख खर्च गर्ने गर्दछन् । २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।