आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–७ कालीमाटीको ग्रिन ल्याण्ड बहुउद्धेश्यीय कृषि फर्ममा अहिले पाँच हजार लियर्स जातका कुखुरा पालिएको छ । स्थानीय ओमराज शर्माले सञ्चालनमा ल्याउनुभएको कुखुरा फर्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ ।
शर्माले लियर्स जातको कुखुरामा पालनमा आम्दानी र जोखिम बराबर रहेको अनुभव सुनाउनुहुन्छ । १२ बर्ष कतार बसेर फर्कनुभएका शर्माले छ वर्ष यता लियर्स जातको कुखुरा पालन गर्दै आउनुभएको छ ।
“तीन हजार कुखुरा पाल्दै आएको थिए, अहिले थप दुई हजार कुखुराले समेत अण्डा दिन शुरु गरेका छन्, अहिले दैनिक करिब पाँच हजार अण्डा उत्पादन बजार पठाउदै आएको छु” शर्माले भन्नुभयो “कतारबाट फर्केर सामुहिक लगानीमा कुखुरापालन थालेपनि पछि एकल स्वामित्वमा फर्म चलाउदै आएको छु, फर्म रहेको पैराबारीमा तीन घर थिए, बसाई सराइका कारण रित्तिएका तीन घर भएको स्थानमा र्फम स्थापना गरेको थिए ।”
अण्डा, दुध, मासु लगायतका कृषि उपज बेचेर राम्रो आम्दानी गर्ने उद्धेश्यले ग्रिन ल्याण्ड बहुउद्धेश्यीय कृषि फर्म सञ्चालनमा ल्याएपनि अहिले उहाँको उत्पादन अण्डा लक्षित छ ।
रु.एक करोड ५० लाखको लागतमा फर्म स्थापना गरी सञ्चालनमा ल्याइएको बताउदै अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जीप र चारजनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । फर्मको कमाईबाट आफु सन्तुष्ट रहेको बताउदै अहिले कमाईबाट लगानी थपिएको बताउनुभयो ।
“अहिले कर्मचारीलाई तलब दिएर, खर्च कटाए करिब मासिक १ लाख ५० हजार बचाएको छु, उक्त रकमले बैंकको ऋण घटाउदै गएको छ, बैंकको ऋण सकिएपछि बल्ल फर्म आफ्नो हुुन्छ”– शर्माले भन्नुभयो । फर्मबाट उत्पादन भएको अण्डा बिक्रिको लागि बागलुङ नगरपालिका–२ गोल्डेनगेटमा डिपो समेत सञ्चालनमा ल्याएको छ ।
अण्डा बिक्रिको लागि बजारको अभाव नभएको बताउदै बाहिरबाट आउने अण्डाले अण्डाको मुल्य भने अस्थिर बनेको बताउनुभयो । उहाँले प्राविधिक सहयोग भने नपाएको गुनासो गर्नुभयो । उहाँले स्थानीय सरकारले प्राविधिक सहयोग नगर्दा समय–समयमा आउने रोगले नोक्सानी भइरहेको जनाउनुभयो ।
सुरुको बर्षमा कुखुरापालनमा ज्ञान नभएपछि घाटा भएको बताउदै साथीहरुले घाटा हुँदासाथ फर्म छोडेपछि आफूले एकलौटी बनाएको बताउनुभयो । पहिलो लटमा असफलता भएपनि त्यसपछि भने समस्या नभएको उहाँको भनाई छ ।
उहाँको फर्ममा ४३ रोपनी क्षेत्रफलमा फैलिएको छ । फर्ममा दुई गाई र दुई बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको ६ वर्ष भयो । सामूहिक रूपमा थालिएको फर्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आउनुभएको छ ।
तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन २५ लाख लगानी लाग्ने बताउँदै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना सुनाएको बताउनुभयो ।
“प्राविधिक समस्या कुखुरामा धेरै रहेछ, अहिले धेरै ज्ञान लिइसके, स्थानीय सरकारबाट अन्य सहयोग भन्दा प्राविधिक सहयोग दिन सके आफू जस्ता उद्यमीलाई सघाउ पुग्नेछ” उहाँले भन्नुभयो ।