आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–२ नम्बर वडालाई शुक्रबार बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको छ ।
बजार परिकर्मा सहित ऐश्वर्य पार्कमा आयोजित मूल समारोहमा वडालाई बालमैत्री घोषणा गरिएको छ ।
नगरपालिकालाई पुस मसान्तमा बालमैत्री घोषणाका निमित्त वडालाई बालमैत्री बनाइएको छ । अहिले सम्म ८ वटा वडा बालमैत्री घोषणा भइसकेका छन् ।
बालमैत्री वडा घोषणाको गण्डकी प्रदेश सभाका सदस्य द्रोण कुँवरले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै कुँवरले बालमैत्री नगरपालिका घोषणासँगै बागलुङ नगरपालिका मानव सूचांकमा अगाडि बढ्नु उदाहरणीय भएको बताउनुभयो । नगरपालिका बाल बालिकाको हक हितका लागि अघि बढ्दा समग्र नगरको विकासमा टेवा पुग्ने बताउनुभयो ।
बालमैत्री नगर बन्दा आम नागरिक, राज्यका अन्य निकाय र अन्तराष्ट्रिय क्षेत्रले पनि सकारात्मक ढंगले बुझ्ने भन्दै उनले त्यसको फाइदा लिएर विकासका अन्य धेरै काम गर्न नगरपालिकालाई कुँवरले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले वडा कार्यालयलाई घोषणाको कदरपत्र प्रदान गरेका थिए ।
उपस्थित सरोकारवालाले बालमैत्री नगर घोषणपत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा पुर्व नगरप्रमुख जनकराज पौडेल, बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, वडा बाल सञ्जालको सचिव रोजी थापा शिक्षक प्रकाश आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बालमैत्री नगरका लागि आवस्यक ५१ सुचक पुरा भएकोले वडाले घोषणा कार्यक्रम आयोजना गरेको हो ।
वडा अध्यक्ष सुरज बोसेलका अनुसार वडा भित्रका भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पोषण तथा नागरिकको सोचमा बालमैत्रीपना आउने वातावरण तयार पारिएको हो । वडा अध्यक्ष सुरज बोसेलको अध्यक्षता र शिक्षक प्रतिनिधि बालकृष्ण शर्माको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, नगर शिक्षा शाखाका प्रतिनिधिहरु, वडा अध्यक्षहरु समेत सहभागि थिए ।
त्यसअघि बाजागाजा, बालमैत्री अभियानका सन्देशमुलक नारा बोकेका बालबालिका, अभिभावक विभिन्न संघसंस्थाका प्रतिनिधि समेतले बजार परिक्रमा गरेर बालमैत्री अभियानको बिगुल फुक्ने काम पनि गरेका थिए । कार्यक्रममा बालमैत्री अभियानको अहिले सम्मको प्रगती बिवरण वडा सदस्य विदेश कुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो । वडाका सबै सूचक पुरा भएपछि बालमैत्री वडा घोषण गरिएकोे बालमैत्री सहजकर्ता सुजता शर्माले जानकारी दिनुभयो ।