एनपीएल बिजेता टिम र क्यानलाई बधाई

सम्पादकीय/ छिमेकी देश भारतमा लोकप्रिय क्रिकेट खेल प्रतिको क्रेज नेपालमा पनि फैलिँदो छ । खासगरी नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएर ओडिआइ स्टाटस बनाए पछि देशमा पनि क्रिकेट प्रतिको आकर्षण बढ्यो । अहिले त्यही जगमा उदाएको क्रिकेटको आशा र सम्भावनाले नेपालमै पहिलो पटक नेपाल प्रिमियर लिग आयोजना गर्ने अवस्थामा आइपुगेको छ र क्रिकेटका बारेमा सुन्दा मात्रै नाक खुम्चाउनेहरु पनि क्रिकेट खेलका बारेमा बुझ्न र हेर्न थालेका छन् । अर्कोतर्फ क्रिकेटले सुस्ताउँदो अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसले जुनकुनै पनि क्षेत्रमा दृढ इच्छा शक्तिका साथ कुनै व्यक्ति या समूहले नेतृत्व कौशल देखाउँदा त्यसको सिंगो नेपाल र नेपालीले लाभ लिने र खुशी तुल्याउने विषय बन्छ भन्ने गतिलो उदाहरण समेत देखिएको छ ।

एक महिना सम्म उत्सवमय बनाएको एनपीएल शनिवार सकिएको छ । रोमाञ्चक प्रतिस्पर्धाका बिच जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य पनि जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेर उपाधि चुमेको हो । जनकपुर त्यही टिम हो, जुन सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा हार व्यहोरेको थियो । अन्य घरेलुदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शकको उपस्थिति हेर्दा केही वर्षयता नेपालमा क्रिकेट क्रेज बढिरहेकै थियो । एनपिएलले यो क्रेजलाई ह्वात्तै उकासिदियो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपिएलमा विश्वका दिग्गज खेलाडीको समेत सहभागिताले दर्शकमा उत्साह थप्यो । एनपिएलका हरेक खेलमा पाँच हजारमाथि दर्शक उपस्थितिले पहिलो संस्करणमै अकल्पनीय उचाइ लियो । नेपालमा पहिलोपटक भएको प्रिमियर लिगले देशको क्रिकेट क्षेत्र प्रवद्र्धन गर्ने महोत्सव मात्रै बनेको छैन, धर्मराएको अर्थतन्त्र सुधार्ने एउटा टेको पनि बनेको छ । एनपिएल अर्थतन्त्रको ठ्याक्कै हरहिसाब आउन बाँकी छ, तर अनुमानित कारोबार सय करोड रुपैयाँ (एक अर्ब)भन्दा माथिको भएको आँकलन छ । पारिश्रमिकबाट खेलाडीको आर्थिक सुधार, खेलाडी व्यवस्थापनमा हुने खर्चबाट होटेलले गरेको कमाइ, टिकट बिक्री र विज्ञापनबाट क्रिकेट टिमका मालिकले गर्ने आम्दानीजस्ता आर्थिक गतिविधि मात्रै होइन, क्रिकेट मैदानबाहिर सानातिना व्यापार गर्ने र आम नेपालीमा क्रिकेट खेलले दिएको उत्साह र खुशीको गणना अमूल्य छ ।

देशमा चौतर्फी निराशा र अनिश्चितता छाएको बेला क्रिकेटको जुन स्तरको खेल आयोजना गरियो, त्यो पनि नेपाल क्रिकेट एशोसियसन, यसको नेतृत्वकर्ता टिम धन्यवादको पात्र छन् । त्यसमा पनि विशेष अग्रसरता र एनपीएलको संयोजकको जिम्मेवारी निर्वाह गर्ने क्यानका सचिव पारस खड्का विशेषतः धन्यवाद र प्रंशसाको पात्र बनेका छन् । अहिलेको प्रिमियर लिगको सुरुवातले देशलाई क्रिकेटमय मात्रै बनाएन, खेलाडीलाई खेलकुदमै भविष्य खोज्न उत्प्रेरित र खेल पर्यटनप्रति उत्साह र आशावादी पनि बनाएको छ । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाएको छ, नैराश्यता बढिरहेको समाजमा आशा जगाइदिएको छ । अब भारत, पाकिस्तान, अस्ट्रेलियालगायत क्रिकेटका महारथी देशमा अर्थतन्त्र उकास्न क्रिकेटले खेलेको अहम भूमिकालाई नेपालमा पनि नयाँ सम्भावना र अवसर हो भन्ने राज्य र यसका निकायलाई गहिरो महुशुस गराउन सफल भएको छ । जे होस्, यो प्रतियोगिताले अभूतपूर्व सफलता हासिल र अनगिन्ती सम्भावनाहरुको उजागर गरेको छ । यसलाई आगामी दिनमा अझ व्यवस्थित, प्रादेशिक स्तरमा समेत फैलाउने गरी पूर्वाधार सहितको तयारी गरिनु पर्छ । अहिलेलाई एनपीएलको पहिलो संस्करणको बिजेता जनकरपुर बोल्ट र सफल आयोजनाका लागि क्रिकेट एसोसियसन नेपाल (क्यान)लाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *