पूर्व राज्यमन्त्री खड्काद्धारा करिब दुइ लाख घरभाडा छुटको घोषणा

फाइल तस्बिरः पूर्व राज्यमन्त्री चम्पादेवी खड्का परिवार

आदर्श अनलाइन,बागलुङ

पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छिन् ।

बागलुङ नगरपालिका—२ की खड्काले आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिनाको करिब १ लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गरेकी हुन् ।

नोबेल कोरोना भाईरसका कारण विश्व नै ठप्प भएको बेला अहिले नेपाल पनि लक डाउनमा छ । मानव जाति नै संकटमा रहेको बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर भाडा छुट गर्ने निर्णय गरेको उनले बताईन् । ‘कोरोना भाईरसले अहिले विश्व नै ठप्प भएको छ, सुरक्षाका लागि नेपाल पनि लक डाउन गर्नुपरेपछि अहिले व्यापार व्यवसाय सबै ठप्प छन्,’ उनले भनिन्,‘यस्तो समस्याको घडीमा हामीले एकले अर्कोलाई सहयोग गर्नुपर्छ । मैले आफ्नो घरमा भाडामा बस्ने तथा पसल सञ्चालन गर्नेहरु सबैको एक महिनाको भाडा छुट दिने निर्णय गरेकी छु ।’

अहिले अमेरिकामा रहेकी खड्काले भान्जा अर्जुन घिमिरे मार्फत एक महिनाको घरभाडा छुट दिने भाडामा बस्दै आएकाहरुलाई जानकारी गराएकी छिन् । ‘माईजु अहिले अमेरिका हुनुहुन्छ, मैले सबैलाई जानकारी गराईदिएको छु,’ घिमिरेले भने,‘उहाँको नाममा भएको घर जग्गामा भाडामा रहेका पसल व्यवसाय देखि कोठा भाडासम्मको एक महिनाको भाडा छुट गर्नुभएको हो ।’

संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित तत्कालिन संविधान सभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा असामयिक निधन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन् । श्रीमानको स्वर्गारोहण पछिको रिक्त स्थानमा भएको उपनिर्वाचनमा निर्वाचित भएपछि खड्काले गरिबी निवारण तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिईन् । खड्का अहिले नेपाली काँग्रेसको महासमिति सदस्य छिन् । उनका दुई भाई छोराहरु डा. सुदिप खड्का र सुमिस खड्का अमेरिकामा रहेकाले पारिवारिक भेटघाटका लागि उनी अमेरिका गएकी हुन् । जेठो छोरा डा. सुदिप चर्चित ईबोला भाईरको औषधी पत्ता लगाउने टिममा रहेका एक मात्र नेपाली वैज्ञानिक हुन् ।

अमेरिकाको उपल्लो तहको प्रयोगशालामा अनुसन्धान गर्ने खड्काको टोली अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उपचार पद्धतिको खोज अनुसन्धानमा जुटेको छ । कोरोना संक्रमको महामारी रोक्नका लागि लक डाउनको घोषणा गरेपछि बागलुङ उद्योग वाणिज्य संघले लक डाउन अवधिको घरभाडा छुट गर्ने बागलुङका घरधनिहरुलाई आग्रह गरेका थियो । उद्योग वाणिज्य संघको आग्रह अनुसार सामाजि व्यक्तित्व कृष्णशंकर श्रेष्ठले यस अगाडी नै घरभाडा छुटको घोषणा गरिसकेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *