आदर्श अनलाईन, बागलुङ
बागलुङका निर्माण व्यवसायी कुमार खड्काले एक महिनाको घरभाडा छुट दिने भएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीका खड्काले आफ्नो घरमा होटल संचालन गरेका तथा डेरा लिइएर बस्नेहरुको एक महिनाको भाडा छुट गर्ने बताएका छन् । उनले करिब १ लाख रुपैयाँको छुट दिने भएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले गर्दा मानव जाति संकटमा परेको छ । यस बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर भाडा छुट गर्न थालेको उनले बताए ।
‘कोरोना भाईरसले गर्दा व्यवसायीहरुले व्यापार गर्न पाएका छैनन्, भाडामा बस्नेहरुले पनि केही काम गर्न पाएका छैनन्, यस्तो अवस्थामा हामीले एकले अर्कोलाई सहयोग गर्नुपर्छ,’ उनले भने ‘मैले आफ्नो घरमा होटल संचालन गर्ने, सामान राख्ने तथा पसल सञ्चालन गर्नेहरु सबैको एक महिनाको भाडा छुट दिने भएको छु ।’
उनले बागलुङ बजार र काठमाडौँको गरी दुई घरमा बस्नेहरुको भाडा मिनाहा गर्ने निर्णय गरेको बताए ।
निर्माण व्यवसायी खड्काद्वारा एक लाख घर भाडा छुट
