अमृत बास्कुने, म्याग्दी
म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिकाको २० औं गाउँसभाले गाउँपालिकालाई आवश्यक पर्ने एम्बुलेन्स खरिदका लागि २३ लाख २५ हजार रुपियाँ बजेट बिनियोजन गरेको छ । सभामा गत आर्थिक वर्ष खर्च हुन नसकेको एक करोड ६० लाख रुपियाँ बजेट चालुमा संशोधन समेत गरेको छ ।
गाउँपालिकाको सभाहलमा शुरु भएको २० औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले गाउँपालिकाको लागि आवश्यक रहेको एम्बुलेन्स खरिदका लागि बजेत बिनियोजन गर्न प्रस्ताब गर्नुभएकोमा सभाले पारित गरेको हो । उहाँले गत आर्थिक वर्ष खर्च हुन नसकेको एक करोड ६० लाख रुपियाँ बजेट चालु आर्थिक वर्षमा संशोधनका लागि समेत प्रस्ताव गर्नु भएको थियो । गाउँपालिकामा हाल रहेको एउटा एम्बुलेन्स पुरानो भएर मर्मत सम्हारमा धेरै खर्च लाग्ने भएकोले गाउँपालिका भित्रका बिरामीहरुलाई सहज सेवा प्रदान गर्नका लागि खरिद गरिनु पर्ने उहाँको भनाई थियो ।
त्यसैगरी हाल सम्म पनि भाडाकै संरचनामा बस्दै आएको गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्तीमा मुआब्जा बितरणका लागि ३० लाख रुपियाँ बजेट छुट्याएको छ । दाना स्वास्थ्य चौकी निर्माणका लागि २० लाख, जोखिममा रहेका समुदायहरुको प्रोफाइल निर्माण गर्न १० लाख रुपियाँ बिनियोजन गरेको छ । त्यसैगरी विपद् व्यवस्थापनका लागि गाउँपालिकाले १० लाख रुपियाँ बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।
त्यस्तै विभिन्न श्रोतबाट संशोधन गरेर दुई करोड ६९ लाख ७१ हजार सात सय १२ रुपियाँ बजेटको नयाँ कार्यक्रम तय गरिएको हो । गाउँपालिकाले पाउद्वार तातोपानी कुण्ड मर्मत, झोलुङ्गे पुल साझेदारी, विपद् व्यवस्थापन, रातोपानी कुण्ड मर्मत, तातोपानी मान्द्रढुंगा मोटरबाटो मर्मत लगायतका ४९ वटा योजनाहरु नयाँ कार्यक्रम पारित गरिएका छन् । अन्नपूर्ण गाउँपालिका–२ मा रहेको सर्वोदय माध्यमिक विद्यालयलाई बस खरिद गर्नका लागि समेत गाउँपालिकाले अनुदान दिने भएको छ ।
चालु आर्थिक वर्षका लागि गत असारमा ५३ करोड २४ लाख ४३ हजार रुपियाँ बजेट प्रस्ताव गरिएकोमा २० औं गाउँसभाले संशोधित गरेपछि ५४ करोड ८४ लाख ४३ हजार अनुमान गरिएको गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा कँडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले दिएको सुत्रको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा गत असारमा पारित भएको बजेट अनुसार चालु खर्च ३७ प्रतिशत र पुँजिगत खर्च एक प्रतिशत मात्रै भएको छ । चालु तर्फ कुल बजेट ३४ करोड ३९ लाख ५५ हजार मध्ये १२ करोड ७५ लाख ६८ हजार तीन सय ४० रुपियाँ ५६ पैसा खर्च भएको छ ।
त्यस्तै पुजितग तर्फ १८ करोड ८४ लाख ८८ हजार मध्ये हाल सम्म २० लाख ७५ हजार पाँच सय ९४ रुपियाँ ९७ पैसा अर्थात एक दशमलब एक प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको छ महिना अवधि सकिदा एक प्रतिशत मात्रै बजेट खर्च भएर ९८ दशमलब ९ प्रतिशत बजे खर्च हुन बाँकी छ । हाल सम्मको प्रतिबेदनको आधारमा पालिका भित्र कुल एक सय ३५ योजनामा एउटा सम्पन्न भएको छ भने ३५ वटाको सम्झौता भएर ९९ वटा सम्झौता हुनै बाँकी छन् ।