म्याग्दी महोत्सव : कला संस्कृतिको अद्यावधिक महत्वपूर्ण

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनीमा पुस २८ देखि म्याग्दी महोत्सव सुरु भएको छ । माघ ८ गते सम्म सञ्चालन हुने महोत्सव उद्योग ब्यापार र कलाको विकास गरौं, संस्कृति संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं भन्ने मुल नाराका साथ सुरु भएको हो । महोत्सवले म्याग्दी जिल्ला भित्रका विभिन्न कला संस्कृति र आफ्नो परम्परालाई पुनः अध्यावधिक गर्ने काम गरेको मान्न पनि सकिन्छ ।

बेनीमा शुरु भएको आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को उद्घाटनमा विभिन्न जातजातिले आफ्नो भेषभुषा झल्कीने झाँकी प्रदर्शन समेत गरे । उनीहरुले आफ्नो संस्कृति सँग जोडिएको कला संस्कृति जगेर्ना गर्ने खालका प्रस्तुती पनि दिए । महोत्सवमा ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, परियार लगायतले आफ्नो संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

नेपाल एकिकरणको शिलशिलामा पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका विजय गरे पछि त्यहाँबाट नेपालका विभिन्न क्षेत्रमा पुगेका भक्तपुरे ‘वरिजिन’का नेवार समुदायहरु म्याग्दीमा पनि आइपुगेका थिए । उनीहरुले पनि आफ्नो परम्परागत हनुमान नाच र नागानागीनी नाच तथा लाखे नाच पनि महोत्सवको अवसरमा प्रदर्शन गरे ।

निकै खर्चिलो र धेरै मेहनत गर्नु पर्ने हनुमान नाचमा बेनीका नेवार समुदायका तीन पुस्ताको सहभागिता रहेको थियो । बाबु छोरा र नाती पुस्ताका नेवारहरुले हनुमान नाचमा सहभागिता जनाएका थिए । नेवारहरुले लाखे, हनुमान र नागानागिनी नाच प्रदर्शन गरेर आफ्नो धार्मिक संस्कारलाई जिवन्त बनाइ राख्ने प्रयास गरेको नेपाल भाषा मंका खलका कृष्णप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ मा बसोबास गर्ने गुरुङहरुले आफ्नो धार्मिक संस्कारमा प्रयोग गरिने बिधिहरुको झाँकी पनि प्रदर्शन गरेका थिए । तमु प्ये ल्हु संघको अगुवाइमा आएको गुरुङहरुको समूहले मृत्यु संस्कार अर्गुममा बजाइने ढ्याङ्ग्रो तथा झ्याली बजाउँदै उनीहरुको धर्मगुरु लामाले पहिरीने पोशाक सहित झाँकी प्रदर्शन गरेको तमु प्ये ल्हु संघका अध्यक्ष राजु गुरुङको भनाई थियो ।

महोत्सवममा नेपालका अल्पसंख्यक थकालीहरु आफ्नो पहिचान देखाउन तल्लिन थिए भने ओमशान्ति तथा अन्य धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले पनि आफ्नो पहिचान झल्काएका थिए । महोत्सवले सबै जातजाति धर्म संस्कृतिको पहिचानलाई हराउन बाट जोगाउने प्रयास गरेको म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

हरेक तेश्रो वर्ष हुने महोत्सवमा भए पनि झाँकी प्रदर्शनका लागि नै भए पनि आफ्नो भेषभुशा तथा संस्कृतिको अध्यावधिक जस्तै मान्न सकिन्छ । झाँकीकैलागि तयारी गर्दा पनि भुल्ने अवस्थामा पुगेका चिजहरु पनि सोधखोज गरेर थाहा पाउने भएकाले पनि यसलाई अध्यावधिककै रुपमा लिन सकिने उहाँको तर्क थियो ।

नेपाल मगर संघको अगुवाइमा मगर संस्कृति र परम्परागत सोरठी तथा ख्याली गित सहितको ¥याली सँगै थाली नाच पनि प्रदर्शन गरेको थियो । म्याग्दीको चिमखोला क्षेत्रबाट शुरुआत भएको मानिने थालि नाचलाई पनि मगर संघ म्याग्दीले आफ्नो पहिचानकै रुपमा संरक्षण र सम्बद्र्धन गर्दै अगाडी बढेको मगर संघ म्याग्दीका लोकेश पुनको भनाई छ ।

परापूर्व काल देखिनै म्याग्दी सदरमुकाम बेनीमा माघे संक्रान्तिमा मेला लाग्ने गर्दै आएकोमा पछिल्लो दुई दशक देखि म्याग्दी उद्योग बाणिज्य संघले यसको संरक्षण साथै विकास गर्दै आएको छ । हरेक तेश्रो वर्ष महोत्सव र बिचका दुई वर्ष मेला आयोजना गर्दै कला संस्कृतिको संरक्षणका साथै उद्योग ब्यापार र कलाको विकास गर्ने काममा सारथी बन्ने गरेको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *