मरेकका कृषकले डेढ करोडको सुन्तला उत्पादन गरे

अमृतप्रसाद बास्कुने, म्याग्दी
बेनी नगरपालिका–३ मा पर्ने बालम र मरेक क्षेत्रमा २५ घर कुरीया रहेका छन् । उनीहरुले यस वर्ष झण्डै एक करोड ५० लाख हाराहारीको सुन्तला बिक्री गर्ने अनुमान कृषि ज्ञान केन्द्र म्याग्दीको अनुमान छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाका अनुसार मरेक र बालम क्षेत्रमा रहेका २५ मध्ये २३ घरले यस वर्ष सुन्तला बिक्रीबाट उक्त मुल्य भित्राउने अनुमान गर्न सकिन्छ । मरेकमा सुन्तला उत्पादन राम्रो हुने भएपनि बेनी–थामडाँडा–मरेक हुँदै बागलुङ जोड्ने सडक जोखिमपूर्ण हुँदा अझै उचित मुल्य कृषकले पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

बेनी नगरपालिका–३ का स्थानीय एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष बिरबहादुर थापाका अनुसार यस वर्ष मरेक क्षेत्रमा एक करोड ३० देखि ५० लाख रुपियाँ मुल्य बराबरको सुन्तला बिक्री हुने अनुमान छ । गएको पुस १० देखि सुन्तला टिप्न थालिएकोमा अब माघ १० गते सम्ममा सकिने अनुमान गरिएको छ । त्यस क्षेत्रबाट धादिङ घर भै हाल नवलपरासी वर्दघाट सुस्ता पूर्व हुप्सीकोट–१ का राज तामाङले ठेक्का लिनु भएको छ । राज लगायतका अन्य टोलीले मरेक क्षेत्रबाट सुन्तला खरिद गरेर काठमाडौको बल्खु र कालिमाटीमा पठाउने गरेको छ । मरेक क्षेत्रमा झण्डै ८० लाख रुपियाँको सुन्तला राज तामाङ र शेरवहादुरले लैजादै हुनुहुन्छ भने अरुले बाँकी झण्डै ७० लाख रुपियाँको सुन्तला लैजाने मरेकका अगुवा कृषक पदमबहादुर खत्रीको भनाई छ । मरेक क्षेत्रमा सुन्तला उत्पादन राम्रो छ तर सुन्तला ढुवानी गर्नका लागि सडकको स्तर राम्रो भएको भए अझ धेरै मुल्य पर्न सक्थ्यो राज तामाङले बताउनुभयो ।

यस वर्ष मरेकका पदमबहादुर खत्रीले १८ लाख, डिलबहादुर थापाले १८ लाख, विरबहादुर थापाले १० लाख, जमुना थापाले १४ लाख, कर्णकुमारीले १५ लाख, कृष्णबहादुर खत्रीले ७ लाख, कर्णबहादुर सुवेदीले १२ लाख, खिमबहादुर पुर्जाले चार लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ । त्यस्तै गिता श्रीषले ५५ हजार, गम पुर्जाले ५५ हजार, धनबहादुर पुनले ५ लाख, बलबहादुर पुन ६ लाख, मंगली थजालीले ५५ हजार, टिका शेरपुञ्जाले ५० हजार, पदम थापाले ७ लाख, रेशम थापा २ लाख, इन्द्र थापाले ७ लाख, काजीमान थापाले १ लाख, गम्बर श्रीषले १ लाख, खड्कबहादुर सुवेदीले १ लाख र गौमायाँ चोचाङ्गीले ५० हजार रुपियाँ बुझी सक्नु भएको छ । अन्तिम हिसाब गर्न बाँकी छ हालको अवस्थामा यती नै हो पछि यो रकम अझै बढ्न सक्छ–पदम खत्रीले सुनाउनुभयो ।

म्याग्दी जिल्लामा सुन्तला हुने भनेर शुरुमा बेनी नगरपालिका–३ कै राखु तथा पानीस्वारा क्षेत्रलाई लिने गरिन्छ । मरेक क्षेत्रमा पछिल्लो समय २०६१ देखि सुन्तलाको व्यवसायीक खेती थालेको बिरबहादुर थापाको भनाई छ । मरेक क्षेत्रमा सबै भन्दा पहिला २०४० तिर कर्णबहादुर सुवेदीले सुन्तला रोप्न थाल्नु भएको थियो । उहाँले थालेको सुन्तला खेती सुरुआतमा कसैले साथ नदिए पनि पछिल्लो समय भने २५ मध्ये २३ घरले अहिले सुन्तला बिक्री गर्न थालेका छन् । २५ घरपरिवारले नै सुन्तला खेती थालेको भए पनि यस वर्ष दुई परिवारको बगानको साना बोटमा फल नलागेकोले २३ परिवारले मात्रै सुन्तला बिक्री गर्ने थापाले सुनाउनुहुन्छ ।

कोदो, मकै र अन्य अन्न फल्ने खेतबारीमा सुन्तलाको बोट लगाउँदा भोकै बस्नुपर्ला भनेर बचन लगाउनेहरूले पनि अहिले सुन्तलाबाट मनग्य आम्दानी गर्ने गरेको सुन्तलाका अगुवा कृषक पदमबहादुर खत्रीले बताउनुभयो ।

म्याग्दी जिल्लामा समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीब बास्तोलाले बताउनुभयो । यसबर्ष ८ सय १० हेक्टरमा लगाइएको बोटमध्ये ४ सय २० हेक्टरबाट फल दिइरहेको छ । म्याग्दीमा यसबर्ष उत्पादन बढेकाले जिल्लाभर गरी कुल २५ करोड रुपियाँको सुन्तला बिक्री हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *