डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबिसे राजाको पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतली जस्तै बनेर नाचिने यो नाच महङ्गो पनि मानिन्छ । थरीथरी रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि वर्षेनी नाचको रौनक बढ्दै गएको छ ।
भल्कोटमा मात्रै नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रुपमा लिने गरिन्छ । पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ । युवा पुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षणमा जोड दिएका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको नाचलाई संरक्षण गर्न स्थानीय सरकारसहित विभिन्न संघ संस्थाहरु पनि लागेका छन् ।
नाचको संरक्षण लागि तिलाचन युवा क्लव अग्रसरता लिएको छ । क्लवले पुराना पुस्ताबाट नयाँ युवालाई संस्कृति हस्तान्तरण गराउने कार्य गर्दै आएको छ । हरेक वर्ष गाउँमा नयाँ नाच्ने युवाहरु बढि रहेका छन् । सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरु भएको एकिन नभए पनि बाइसे चौबिसे राज्य हुँदादेखि नाच्दै आइएको बुढापाको भनाइ छ । बाउ बाजेले नाच्दै आएको नाचलाई अहिलेसम्म संरक्षण गर्दै आएको स्थानीय ७७ वर्षीय भाजविर घर्ती मगरले बताउनुभयो ।
“पुतली नाच मैले जान्ने हुँदादेखि नै नाच्ने गरिन्थ्यो, अहिले म सात दशक बढी भएँ, नाच्दै आइएको छ, हामी सानोसानो हुँदा बाउ बाजे नाच्थे, मैले त्यही देखेर सिकेको” घर्ती मगरले भन्नुभयो – “अहिलेका युवाहरुले पनि सिक्दै छन्, गर्दै छन्, यो संस्कृति कहिलेदेखि सुरु भएको भन्ने थाहा छैन, तर हाम्रा बाजेहरुले सयौँ वर्ष पुरानो हो भन्ने गर्थे ।
किन नाचिन्छ पुतली नाच ?
तत्कालीन बाइसे चौबिसे राज्यका संचालनका समयमा राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरुको स्मृतिमा पुतली नाच्न नाच्न थालेको स्थानीय नैनासिंह बुढा मगरले बताउनुभयो । बुढा मगरका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ ।
राजा, रानी र धाइमा गरी तीन वटा मूर्ति जस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरु पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ ।
माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरु डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते विहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेता, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै भनेका उनीहरु दिन भर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् ।
बुढा मगर भन्नुहुन्छ – “नेपालमा सयौँ वर्ष अगाडि धेरै राज्य थिए, त्यस मध्ये भल्कोटमा पनि एउटा राज्य संचालन भएको भन्ने बुढापाकाले भन्ने गर्थे, उनीहरुले जे सिकाए हामीहरुले पनि त्यही सिक्यौँ र अहिलेका युवाहरुलाई पनि त्यहीनै सिकाई रहेका छौँ, माघ २ गते साँझदेखि पुतली बनाउन सुरु भएदेखि ३ गते साँझसम्म नाच्ने चलन छ ।”
भालुको पित्त देगाउने अचम्मको प्रचलन
पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देगाउने गरिन्छ । दिनै भरि पुतली जस्तै बनेर नाच्ने मानिसको बीचमा कापै खेल्ने १०÷१२ जना युवाको टोली हुन्छ । उनीहरुले डम्फु, घाँडो लगायतका थोँत्रा भाँडा बजाउने गर्छन् । पुराना थाग्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् ।
उनीहरु मध्ये एक जनालाई पुरानो घुम (भेडाको रौँबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरुले भालु भन्छन् । कापै खेल्नेहरुले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्निे गर्छन् भने बेला बेलामा उत्तानो पारेर देखाइ दिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् ।
देख्दा अवस्भाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको प्रचलन हो । कापै खेल्नेहरुले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर….. लगायत सुन्न पनि अत्न्यतै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लिल शब्द बोल्दा देवी देवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ६६ वर्षीय मनबहादुर घर्ती मगरले बताउनुभयो ।
“यस्तो खालको संस्कृति देख्दा बाहिरबाट आउने मान्छेलाई नराम्रो लाग्छ होला तर यो ठाउँमा धेरै वर्ष पहिलेदेखि नै भालुको पित्त देखाउने गरिन्छ, अन्य समयमा यस्तो हुँदैन, जुन दिन पुतली नाचिन्छ, त्यही भालुको पित्त देखाउने गरिन्छ,” घर्ती मगरले भन्नुभयो – “पहिले त अझै बढी चल्थ्यो, तर अहिले विस्तारै कम हुँदै गएको छ, भालु बनाएर यौनाङ्ग देखाउने मानिसको पहिचान खुलाउनु हुँदै ।”
सेनाको तालिम ‘पट्टा नाच’
पुतली नाचसँगै माघ ३ गतेनै पट्टा नाच नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरुनै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरुले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगर (सूर्यमान)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार पट्टा नाच्दा दुई तर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुबैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफै गर्दछन् । पहिले पुराना ढाल तरबारको प्रयोग हुने गरेकोमा पछिल्लो समय काठलाई पट्टा बनाएर नाच्ने गरेको उहाँको भनाइ छ ।
संरक्षणमा गाउँपालिकाको चासो
पहिले झोलेमा रहेको पुतली नाच स्थानीय सरकार आएपछि बढी चर्चामा आउन थालेको छ । प्रचारप्रसारका कारण पश्चिम बागलुङ यो नाच निकै लोकप्रिय बन्दै गएको छ । पाँच वर्ष अगाडिको तुलनामा नाच हेर्न आउने दर्शकसमेत बढेका छन् । नाच हेर्नका लागि बागलुङका निसीखोलासहित तमानखोला, ढोरपाटन तथा गुल्मी, प्युठान, रोल्पा र रुकुमबाट हजारौँ दर्शक आउने गरेका छन् ।
मगर समुदायको पहिचानसँग जोडिएको पुतली नाच मौलिक संस्कृति भएको हुँदा पालिकाले वर्षेनी बजेट व्यवस्थापन गरेर व्यवस्थित गर्दै गएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । गाउँपालिकाले पाका पुस्ताबाट युवा पुस्तामा कला र संस्कृति हस्तान्तरण गर्नका लागि प्रशिक्षण लगायतका काम गर्ने गरेको उहाँको भनाइ छ ।
“यस खालको नाच सायद नेपालमै छैन होला, हामी कला संस्कृतिका हिसाबले धनी छौँ, नयाँले नसिकेपछि लोप भएर जान्छ कि भन्ने चिन्ता त हुन्छनै यद्यपी समय–समयमा युवा पुस्तालाई सिक्न प्रेरित गरि रहेका छौँ” उहाँले भन्नुभयो – “गाउँपालिका यहाँका संघ संस्थालाई पनि कला संस्कृति संरक्षण गर्न सक्रिय बनाइ रहेको छ, बजेट विनयोजन गर्ने र अन्य पक्षलाई पनि ध्यान दिएका छौँ ।”