सम्पादकीय
पुस माघको महिना, पारिलो घाम र सुन्तला । सम्झदा मात्रै पनि निकै गजबको अनुभूति हुन्छ । सुन्तलाको यो सिजनमा सुन्तलाको सम्भावनाबारे जे जति बहस, छलफल गर्नुपर्ने हो, सम्भाव्यताका बारेमा सरकारले जे जति नीति, पहलकदमी लिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । सुन्तलाका लागि धौलागिरी क्षेत्र (बागलुङको काठेखोला गाउँपालिका ५,६ बिहुँ, जैमिनी नगरपालिकाको दमेक, म्याग्दीको बेनी नगरपालिका, पर्वतको जलजला गाउँपालिकाको बासखर्क लगायतका गाउँ निकै उर्वर मानिन्छन् । यी गाउँहरुबाट एकै सिजनमा करोडौंको सुन्तला निर्यात हुन्छ । बजारको कुनै समस्या छैन । बिक्रेताहरु नै सिजन अगावै गाउँ गाउँ आएर सुन्तला फूल खेल्दा नखेल्दै बोट, बगैंचा नै ठेक्का हान्छन् । यसबाट सुन्तलाको हाम्रो क्षेत्रमा व्यापक सम्भावना सहजै अनुमान गर्न सक्छौ ।
सुन्तलालाई नेपालको राष्ट्रिय फल हो । सुन्तला खेतीमा १ लाखभन्दा बढी किसान निर्भर छन् । अधिकतर जिल्लामा फल्ने र नेपालीमाझ लोकप्रिय यो फललाई नेपाल सरकारले २०८० चैत ३० गते राष्ट्रिय फल घोषणा गरेको थियो । छिमेकी देश भारतले त सन् १९५० मै आँपलाई राष्ट्रिय फल घोषणा गरेको थियो । जापानको राष्ट्रिय फल हलुवावेद हो भने बंगलादेशले रूख कटहरलाई राष्ट्रिय फलको रुपमा लिने गरेको छ । सुन्तला नेपालका ६६ जिल्लामा फल्छ । व्यावसायिक खेतीचाहिँ ४८ जिल्लामा भइरहेको छ । सुन्तलाको वार्षिक कारोबार २४ अर्ब रुपैयाँभन्दा बढीको छ । बिहुँ, बासखर्क, दमेक गाउँमा मात्रै वर्षेनी करोडौं रकम भित्रिने गरेको छ । यद्यपि, सुन्तलामा नेपाल अझै पनि परनिर्भर अवस्थामा छ । आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब १२ करोड २१ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएको थियो । पछिल्लो समय भने आयातको मात्रा घटेर आर्थिक वर्ष २०८०÷८१ मा २२ करोड १६ लाख रुपैयाँबराबरको मात्रै आयात भएको थियो । जुन केही सुखद् र सकारात्मक त हो । तर, आयात प्रतिस्थापन मात्रै नभई निर्यातकै दिशामा जान भने नेपाललाई तत्काल कठिन देखिएको छ ।
सुन्तलालाई नेपालले राष्ट्रिय फल घोषणा गरेर मात्रै पुग्दैन । सुन्तलाको वर्तमान उत्पादन, खेतीको अवस्था, विस्तार, अभिबृद्धि, गुणस्तरीयता, बजारिकरणमा पनि उत्तिकै ध्यान दिनुपर्ने छ । बढ्दो बेरोजगारी र विदेश पलायनको दुरावस्था रोक्न यसलाई स्वरोजगारी, रोजगारी र आन्तरिक अर्थतन्त्र उकास्ने एउटा माध्यमका रूपमा विकास पनि गर्न आवश्यक छ । धेरै दुःख, मेहेनत गर्न नपर्ने तर नेपाली किसानको आम्दानीको गतिलो स्रोत हो । तर, बिडम्बना के छ भने स्वदेशी उत्पादनले मात्रै नेपाली बजारको माग धानिरहेको छैन । अझै आयातमा निर्भर हुनुपरेको छ । मागअनुसार भन्ने हो भने राष्ट्रिय फल सुन्तलामा पनि नेपाल परनिर्भर छ । राष्ट्रिय फल बाह्रैमास उत्पादन हुनसक्ने प्रविधिको विकास र विस्तार पनि सरकारले पहलकदमी लिनुपर्छ । किसानलाई सुन्तला लगाउन प्रोत्साहन गर्ने, यसका रोगकीराको उपचार गर्न सक्ने सरकारी संयन्त्र विस्तार गर्ने काममा सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ । बाह्रैमास सम्भव हुँदैन भने कम्तीमा छिटो पाक्ने र ढिलो पाक्ने प्रकृतिका सुन्तलाको खेतीको सन्तुलन मिलाउने र शीतभण्डारण गरी बाह्रैमास उपलब्ध गराउन सक्ने हो यसको बजार र मूल्य अझ स्थापित हुन सक्छ ।