डम्मर बुढा मगर, बागलुङ
नगरपालिका–१० भकुण्डेमा संचालित घरबास (होमस्टे)मा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेको शान्त वातावरण, स्वच्छ हावापानी, अर्गानीक खानाको स्वाद लिन र यहाँबाट देखिने हिमश्रृङ्खलाको अवलोकनका लागि विदेशी पर्यटक आउने गरेका हुन् ।
वि.सं. २०६८ सालदेखि संचालनमा आएका घरबासमा स्वदेशी पर्यटकको समेत आकर्षण पनि बढ्दै गएको छ । भकुण्डे गाउँका १५ घरमा घरबास संचालनमा छन् । पर्यटन याममा घरबास भरिभराउ हुन्छन् । बेसिजनमा पनि पर्यटक पुग्ने गरेको घरबास संचालक यामबहादुर थापाले जानकारी दिनुभयो । पर्यटकले कोदोको ढिँडो र लोकल कुखुराको मासु बढी मन पराउने उहाँको भनाइ छ ।
मंसिर अन्तिम सातादेखि चिसो अत्याधिक बढेको भन्दै यो याममा पनि पर्यटक आइरहेको थापाले बताउनुभयो । पछिल्लो चार महिनामा १०० बढी विदेशी पर्यटक भकुण्डे घरबासमा आएको उहाँले जानकारी दिनुभयो । खासगरी यहाँ विदेशी ‘भेगन ग्रुप’हरु आउने उहाँको भनाइ छ । कोरिया, अमेरिका, जर्मनी, बेलायत, क्यानडा लगायतका देशबाट पर्यटक आउने थापाले बताउनुभयो ।
थापाले भन्नुभयो – “बागलुङ बजारबाट भकुण्डे आउने सडक गतिलो नहुँदा पर्यटक कम मात्रामा भित्राउन सकेका छौँ, यो सडक पक्की हुन्थ्यो भने यहाँका सबै घरबासहरु भरिभराउ हुने थिए, तर बाह्रै महिना पर्यटक आइ राख्नु भएको छ, अहिले त विदेशी पर्यटकको आकर्षण बढ्दो छ, पहिले–पहिले एक वर्षमा एक÷डेढ सय विदेश पर्यटक आउने गरेकोमा अहिले त तीन÷चार महिनामै १०० बढी आए ।”
१३ वर्ष अगाडिदेखि संचालनमा आएका भकुण्डेका घरबास जिल्लामै बढी पर्यटक आउने घरबास मध्येमा पर्छन् । यहाँका घरबासमा मासिक दुई सयदेखि चार सयसम्म आन्तरिक पर्यटकहरु पुग्ने गरेको छन् । विदेशी पर्यटकले भकुण्डेको कला, संस्कृतिसहित हिमश्रृङ्खलासँग घण्टौ बिताउने अतिथी सत्कार होमस्टेकी उपाध्यक्ष इन्द्रा थापाले बताउनुभयो ।
भकुण्डेबाट धौलागिरी, माछापुछ«े, अन्नपूर्ण, मानापाथी लगायत २१ वटा हिमश्रृङ्खलाहरु आँखै अगाडि देखिने हुँदा धेरै पर्यटक भकुण्डे आउने गरेको उहाँको भनाइ छ । बागलुङ बजारदेखि पैदल एक घण्टा र गाडी एक घण्टामा भकुण्डे पुग्न सकिन्छ । लामो समयदेखि सडक स्तरोन्नति नहुँदा सोचे अनुसारको पर्यटक भित्राउन नसकेको थापा बताउनुहुन्छ । विदेशी पर्यटकले ग्रामीण जीवनशैली र भेषभूषालाई बढी चासो दिने गरेको उहाँको भनाइ छ ।