आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनीमा मंगलबार सम्पन्न खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका र प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबलको उपाधि बेनी नगरपालिकाले हात पारेका छन् । आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यपार मेला–२०८१ को अवसरमा म्याग्दी उद्योग बाणिज्य संघको आयोजना र जिल्ला भलिबल संघको समन्वयमा भलिबल प्रतियोगिताको आयोजना भएको थियो ।
बेनीमा आयोजीत पुरुष भलिबलको फाइनलमा बेनी नगरपालिकाले मालिका गाउँपालिकालाई १–३ सेट अन्तरमा पराजित गर्दै उपाधिमाथी कब्जा जमाएको हो । प्रतियोगितामा पहिलो भएको बेनी नगरपालिकाले १७–२५, २८–३०, २५–१६ र १६–२५ को सेटमा मालिका गाउँपालिकालाई पाखा लगाउँदै उपाधि आफ्नो बनाएको हो ।
पुरुष भलिबल प्रतियोगितामा पहिलो भएको बेनी नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय र दोश्रो हुने मालिका गाउँपालिकाले ७५ हजार एक सय रुपियाँ नगद पुरस्कारका साथै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।
त्यसैगरी एसएसवाइसी मालिकालाई पराजित गर्दै अन्नपुर्ण गाउँपालिकाले म्याग्दीको बेनीमा सम्पन्न खुल्ला महिला भलिबलको उपाधि जितेको छ । एसएसवाइसी मालिकालाई २२–२५, २५–२२, २०–२५ र १६–२५ को सहज सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले उपाधि हात पारेको हो ।
खुल्ला महिला भलिबलमा पहिलो भएको अन्नपूर्ण गाउँपालिकाले नगद ७५ हजार एक सय रुपियाँ र दोश्रो स्थान हासिल गरेको एसएसवाइसी मालिकाले ४० हजार एक सय रुपियाँ नगद पुरस्कार साथै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको म्याग्दी महोत्सवका खेलकुद संयोजक तारानाथ रेग्मीले जानकारी दिनुभयो ।
गत पुस २८ गते शुरु भएको आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यपार मेला–२०८१ को अन्तिम दिन महिला तथा पुरुष भलिबलको फाइनल सम्पन्न भएको हो ।