आदर्श अनलाइन, म्याग्दी
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिले सम्मकै उत्कृष्ट काम गरेको बताउनु भएको छ । वर्तमानमा आर्थिक अवस्था खुम्चिएको र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन गरी सहज वतावरण बनाएको बताउनु भएको हो ।
म्याग्दीमा गत पुस २८ देखि शुरु भएर माघ ८ गते सकिएको म्याग्दी महोत्सवको समापनमा मंगलबार ढकालले नेपालमा लगानीको प्रसस्तै सम्भावनालाई सरकाले हालै ल्यएको आर्थिक नीतिले समेत थप बल पुगेको बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो `सरकारले हामीलाई काम गर्ने वातावरण बनाएको छ, लगानी तथा उद्यमसँग सम्बन्धित कानुनहरू संशोधन गरेर सराहनीय काम गरेको छ ।´ उहाँले कानुनमा देखिएका समस्या समाधान नेपाल सरकारले गरेको अवस्थामा पनि लगानीमैत्री वातावरण छैन भन्नु गलत हुने बताउनुभयो ।
लगानी बढाउनका लागि र निजी क्षेत्रको मनोबल बढाउन अहिलेसम्म गरिएको प्रयास सरकारले अनुमोदन गरेर व्यवसायीको पक्षमा काम गरेको उहाँको भनाई थियो ।
अध्यक्ष ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएर व्यसायी सँगै समग्र मुलुकको हितमा हुने काम गरेको धारणा राख्नु भयो ।
उहाँले लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा निजी क्षेत्रसँग जोडिएका क्षेत्रका लागि हाल सम्मकै महत्वपूर्ण र राम्रो उपलब्धी रहेको बताउनुभयो । सरकारले केन्द्रीय तहबाटै वातावरण वनाएको अवसरमा अब जिल्ला भित्र लगानीका सम्भावनामा संयुक्त लगानीका लागि आफुँ तयार रहेको उद्योग बाणिज्य महासंघका अध्यक्ष ढकालले धारणा राख्नु भएको थियो ।
ब्यवसायीक योजना बनाउनुभयो भने मैले पनि लगानी गर्छु सबै मिलेर जिल्ला जिल्लामा रोजगार दिन मिल्ने क्षेत्रमा लगानी गरौं’ अध्यक्ष ढकालले आश्वासन दिनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुलामञ्चमा गत पुस २८ देखि माघ ८ गतेसम्म १० दिनसम्म चलेको महोत्सवमा करिब १० करोडको कारोबार र १ लाख दर्शकले प्रत्यक्ष, अप्रत्यक्ष अवलोकन गरेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयाये । महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको थियो ।