डम्मर बुढा मगर, बागलुङ
बागलुङ र पर्वत जोड्ने गरि कालीगण्डकी नदीमाथि बनेको मोटरेवल संचालनमा आएको छ । गत महिना सम्पन्न भएको पुल यसै साता सुरु भएदेखि संचालनमा आएको हो । पुल संचालनमा आएपछि दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सहज हुने भएको छ ।
पुल निर्माणका लागि वि.सं. २०७३ असोज ९ मा सम्झौता भए पनि निर्माण कम्पनीलको ढिला सुस्तीका कारण गति महिना सम्पन्न भएको हो । निर्धारित समयमा ठेकेदार कम्पनीले काम गरेको भए वि.सं. २०७६ असार मसान्तमा सकिनु पर्ने थियो । पुलको पर्वत खण्डमा पहरो परेकाले ५० मिटर सडक बगाएको र नयाँ निर्माण गरि संचालनमा आएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुलले बागलुङको जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका ६ जोडेको छ । यहाँ पुल बन्नुभन्दा अगाडि पोखरा पुग्न बागलुङको मालढुङ्गा र मिर्मी पुग्नु पर्ने बाध्यता रहेको सुनाउँदै अब सिधौ पर्वत निस्किएर जान सकिने उपप्रमुख शर्माको भनाइ छ । अब पोखरा पुग्न एक घण्टा बढी समय छोटिएको उहाँले बताउनुभयो ।
शर्माले भन्नुभयो – “पुल नजिकै प्रसिद्ध जैमिनीधाम छ, यो पुलले धार्मिक पर्यटक भित्राउन ठूलो टेवा पु¥याउने छ भने अब दक्षिण बागलुङका हजारौँ नागरिकले राजधानी र प्रदेश राजधानी पुग्न मिर्मी र मालढुङ्गा पुग्नु पर्ने छैन, अब मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर हुँदै पोखरा पुग्ने विकल्प पनि खुलेको छ, छिमेकी जिल्ला पर्वतसँग थप सम्बन्ध सुमधुर बनाउने छ ।”
जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताउनुभयो । अहिले पर्वत पट्टीको सडक थप व्यवस्थित बनाइरहेको भन्दै कुश्मा पुग्ने समय पनि छोटिएको उहाँको भनाइ छ । अब आफूहरुलाई पोखरा जान झण्डै ३० किलोमिटर छोटिएको थापा बताउनुहुन्छ ।
पुल १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्माण भएको हो । पुलले कालीगण्डकी कोरिडोरसँग फलेवासलाई सिधा जोडेको छ । यसबाट पर्वतका हजारौँ नागरिकसमेत लाभाम्वित हुने छन् ।