आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । हिजाे उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्नु भएको हो । पुस महिनामै १४ वटै वटालाई बालमैत्री घोषणा गरिएको थियो ।
बालमैत्री घोषणा गर्नेकार्यक्रममा बागलुङ नगरपालिका भित्रका हजारौँ बालबालिका र अभिभावकको उपस्थिती रहेको छ । गाउँ–गाउँदेखि विद्यार्थी बजार ल्याउनका लागि १०० बढी बसको व्यवस्थापन गरेको थियो । यस पालिका जिल्लाको दोस्रो बालमैत्री घोषणा गर्ने पालिका हो । यसभन्दा अगाडि गलकोट नगरपालिका बालमैत्री पालिका घोषणा भइसकेको छ । बागलुङ नगरपालिका स्थनाीय शासनयुक्त पालिका बन्नेमा देशभर २५ औँ र गण्डकीमा चौँथो पालिका बनेको हो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ वटा सूचक पुरा गरेर सबै वडा बालमैत्री घोषणा गरेपछि नगरलाई घोषणा गरिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । मंसिरको ५ गते बागलुङ नगरपालिका–१४ नम्बर वडा पहिलो बालमैत्री घोषणा भएको थियो भने पुस १८ गते बागलुङ नगरपालिका १० भकुण्डे र १२ अमलाचौर एक साथ अन्तिम वडाको रुपमा बालमैत्री घोषणा गरिएको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाका लागि आवश्यक ५१ सूचकहरु पूराका लागि नगरपालिकाले दुई वर्ष यता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरेको उहाँको भनाइ छ । आफुहरु निर्वाचित भएर आएपछिको पहिलो निर्णय बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै रु. एक करोड २५ लाख बजेट विनियोजन गरेको उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । उक्त बजेटबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको उहाँको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा समेत रु. ४० लाख लागतमा नगरका सामुदायिक विद्यालयहरुको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको छ । नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गरिने भएको खड्का बताउनुहुन्छ ।
बालबचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो ।
घोषणा कार्यक्रम हजारौँ बालबालिका र नागरिक सहभागीता रहेको थियो । अवसरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा, स्वास्थ्य, रोजगार र व्यवसायिक क्षेत्रको सुधार गर्ने गरि सरकार लागि परेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनु पर्ने अवस्था नभएको बताउनुभयो । पछिल्लो समय सकरात्मकभन्दा नकरात्मक टिकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्ने उहाँले आग्रह गर्नुभयो ।
सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरि रहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्नु खालको हुने मन्त्री सिंहको भनाइ छ । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै अब सरकारले विकास निर्माण र जनताको आवश्यकता अनुसार काम गर्ने थालेको उहाँले बताउनुभयो ।
सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका १३ मा पर्ने गणेशमान सिंह मार्गलाई समयमा सक्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिकाहरु पनि चाँडै बालमैत्री बन्नु पर्नेमा मन्त्री सिंहले जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठ, गण्डकी प्रदेश उपसभामुख बिना थापा, गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठक, प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापा, दिलमाया पौवी, गोविन्दबहादुर नेपाल, पूर्वी संघीय सांसद मना केसी, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, बाल सञ्जाल अध्यक्ष अनुसा कँडेल लगायतले बोल्नु भएको थियो ।