वैदेशिक रोजगार, श्रमिक स्वास्थ्य र सिन्डिकेट

सम्पादकीय
नेपालमा केही नभएको होइन, यही देशमा गर्नेहरुले राम्रै गरिररहेका छन् । यद्यपि, कैयन नागरिकका लागि भने जे जति कोसिस गर्दा पनि दैनिक जिविका चलाउन कठिन हुन्छ । र त परदेशिन बिबश हुन्छन् । वैदेशिक रोजगार नेपाल र नेपालीको केही रहर र त्यो भन्दा बढी बाध्यताको गन्तव्य हो । अहिले पनि दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिनेको उस्तै भिड लाग्छ । नेपालबाट काम खोज्दै मासिक औसत ६५ हजार ५ सय ११ युवा विदेशिएको तथ्यांक सार्वजनिक छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार मासिक साढे ६५ हजार युवा कामको खोजीमा विदेश उड्ने गरेको देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार पुस २०८१ मा मात्र ६७ हजार २ सय ५८ युवाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७ हजार १ सय ५ महिला छन् ।

यति हुँदा पनि वैदेशिक रोजगार व्यवस्थित र मर्यादित हुन सकिरहेको छैन । फ्रि भिसा, फ्रि टिकट भनिएको छ, घुमाउरो बाटोबाट लाखौं पैसा भने नेपाली सँग असुल गरिएकै छ । प्रक्रियाहरु उस्तै जटिल बनाइएको छ, जुन क्रममा कैयन दलालको ठगी धन्दाको सिकार बनिरहेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट छ । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट हुँदै आएको भन्दै प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी दिएको छ । जुन छलफलमा सांसदहरूले त्यस्ता श्रमिकको स्वास्थ्य परीक्षण स्थानीयस्तरमै गर्न पाउने व्यवस्था हुनुपर्ने आवाज उठेको छ । श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरिसकेका छन् । जुनसुकै देशमा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण सबै स्वास्थ्यले गर्न पाउने गरी ऐन संशोधन गर्नुपर्नेमा मेडिकल व्यवसायी संघको जोड थियो ।

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षणमा एकातिर सिन्डिकेट छ, अर्कोतर्फ नक्कली स्वास्थ्य रिपोर्ट बनाउँदा त्यसबाट विदेशमै ज्यान जाने जोखिम पनि बढ्दो छ । स्वास्थ्य परीक्षण गरेर बिदेसिएका श्रमिक सम्बन्धित देशमा पुगेर पुनः परीक्षण गराउँदा फेल भएर फर्किनुपर्ने अवस्था समेत आएको छ । यसमा मेडिकल व्यवसायीमात्र नभएर सरकार पनि संलग्न छ । यहाँबाट मेडिकल गरेर जाने बेला किन सरकारले परीक्षण गर्दैन ? नेपालबाट स्वास्थ्य परीक्षण गरेर गइसकेपछि विदेशमा किन फेल ? यो जे भइरहेको छ, सिन्डिकेटकै कारण भइरहेको छ । अर्कोतर्फ सरकारबाट मान्यता प्राप्त नगरेका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराइरहेकाले पनि समस्या भएको हुन सक्ने खतरा औल्याइएको छ । यी र यस्ता श्रमिकको स्वास्थ्य परीक्षणमा जे जस्तो सिन्डिकेटको सवाल उठिरहेको छ । यो गम्भिर सवाल हो, जसमा राज्यले यथोचित पहलकदमी लिन जरुरी छ । नेपालको श्रमिक स्वास्थ्य परीक्षण रिपोर्ट विदेशमा पनि हेर्न मिल्ने प्रणाली लागु गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं नै पुग्नुपर्ने बाध्यता संस्था छनोट गर्दा देशव्यापी रूपमा छनोट गरेर अन्त्य गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *