सम्पादकीय
कुनै एक शासकको निर्णय, आदेश या कदम कति महत्वपूर्ण र प्रभावी हुन्छन् ? अहिले अमेरिकी राष्ट्रपति निर्वाचन पश्चातको घटनाक्रम र राजनीतिक परिदृश्य हेरे हुन्छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए सँगै पुरा विश्व यतिबेला तरंगित छ । ट्रम्प ‘सनकी शासक’ का रुपमा परिचित छन् । उनले यसअघिको कार्यकाल, निर्वाचन अवधि र निर्वाचित भएर सपथ ग्रहण सम्म आइपुग्दा जे जस्तो घोषणा, निर्णय र कदम चालिरहेका छन्, त्यसले उनी प्रतिको धारणालाई बल दिन्छ । राष्ट्रपति ट्रम्पले शपथ ग्रहण लगत्तै सनसनीपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गरे, जस अनुसार अमेरिकाले विश्वभरका बिभिन्न देशलाई दिँदै आएको सबै सहायता रोकिने भएको छ ।
डोनाल्ड ट्रम्पको पछिल्लो आदेशबाट नेपाल पनि सशंकित अवस्थामा छ । यदि उनले आदेश गरेकै आधारमा सहायता रोकिने हो भने नेपालमा २६ अर्बका विभिन्न परियोजना र कार्यक्रम प्रभावित हुनेछ । नेपालको विकासका लागि संघीयताको समर्थन, समावेशिताको प्रवद्र्धन र संस्थाहरूको क्षमता र दिगोपनको सुदृढीकरण गरी तीन मुख्य क्षेत्रमा अमेरिकाको सहयोग रहँदै आएको छ । युएसएडले नेपाल सरकार र स्थानीय संस्थाहरूसँग साझेदारी गर्दै खाद्य सुरक्षा सुधार, आर्थिक विकास र विविधीकरण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षण प्रणालीको सुधार, प्रजातान्त्रिक शासनको प्रवद्र्धन र प्राकृतिक विपत् व्यवस्थापनमा क्षमताको सुदृढीकरणमा काम गर्दै आएको छ । अमेरिकी विकास सहयोग नियोग युएसएडले सम्बन्धित गैरसरकारी संस्था र सरोकारवालालाई यसबारे सूचना दिएको छ । अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको आन्तरिक पत्रमा हाल कायम सबै वैदेशिक सहायता तत्कालका लागि रोक लगाएको र नयाँ सहायता पनि स्थगित गरेको उल्लेख छ । अमेरिकाको सबैभन्दा धेरै सहायता एमसिसी कार्यान्वयनमा छ । अहिले जुन ठाउँमा कुनै परियोजना वा कार्यक्रम पुगेका छन्, ती अहिलेकै अवस्थामा स्थगित भएका छन् । आगामी ९० दिनभित्र समीक्षा गरेर अर्को निर्णय कार्यान्वयन हुने समाचार सार्वजनिक छ । अमेरिकाले समीक्षा नगरुन्जेल सबै परियोजना र कार्यक्रम यथास्थितिमा रहनेछन् । सोमबारदेखि यो निर्णय लागू हुनेछ ।
अमेरिका यस्तो देश हो, जसले विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने गर्दछ । सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको तथ्यांक छ । यसका साथै अमेरिका सुरक्षित, सुदृढ र समुन्नत हुने सर्तमा मात्रै वैदेशिक सहायता निरन्तरता दिने अडान देशका लागि नाजायज छैन । अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै बैदेशिक अनुदान रोक्न आदेश दिए पछिको विश्वको अवस्था के हुन्छ ? त्यसका लागि त अमेरिकाले तीन महिनाभित्र जे समीक्षा गर्छ र कार्यान्वयन प्रक्रिया थाल्नेछ, त्यसपछि मात्रै धेरै कुरा भन्न सकिनेछ र परिणाम पनि देखिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको देशको हितका खातिर सनक या पृथक सोच के हो ? त्यो पनि समयले प्रष्ट गर्नेछ । यदि अमेरिकाले यस्तो सहायता दिन सधैंका लागि रोक्ने हो भने विश्वमा राजनीतिक अस्थिरता, सत्तापलट, हिंसा, ध्रुवीकरण, युद्ध आदिमा कमी आउने र त्यसले विश्व शान्तिमा योगदान पुग्ने बिश्लेषण पनि नजर अन्दाज गर्न भने मिल्दैन ।