सम्पादकीय
अब विस्तारै मौसम घमाउँदै जान्छ । गर्मी बढ्ने सिजन सुरु हुन्छ । गर्मी सुरु हुँदै गर्दा जाडोयामको सास्तीबाट पार पाउन त सकिन्छ । तर, फागुन चैत्रमा गर्मीसँगै बेग चल्ने हावाहुरीले डढेलो, आगलागीको जोखिम उच्च हुन्छ । हरेक वर्ष आगलागीबाट अर्बौको आर्थिक क्षति त हुन्छ नै, त्यो भन्दा बढी हजारौ जिवजन्तुको बिनाश र बिचल्ली हुन्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै ७० अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । यसमा सबैभन्दा बढी क्षति आगलागीबाट हुने गरेको तथ्याङ्कले देखाउँछ । विगत पाँच वर्षमा आगलागीबाट ९ अर्ब ९७ करोड २ लाखको क्षति भएको छ । आगलागी सम्बन्धी गृह मन्त्रालयको तथ्यांक अनुसार सन् १९७१ देखि २०२१ सम्म १२ हजार बढी आगलागीका घटनामा १ हजार ७ सय बढी नागरिकले ज्यान गुमाएका छन् । २ लाख ६५ हजार ९६२ घरपरिवार प्रभावित र ९० हजार बढी घरमा क्षतिग्रस्त भएका छन् ।
विगतमा भएको आगलागी र त्यसबाट पुगेको क्षतिबाट शिक्षा लिएरै सरकारले अहिले नै सचेतता अपनाउन आग्रह गरेको छ । वन तथा भू–संरक्षण विभागले यो वर्ष हिउँदे वर्षा नभएकाले जमिन सुख्खा तथा तापक्रममा पनि वृद्धि भएको हुँदा वन डढेलो लाग्ने सम्भावना बढी भएकाले सबैलाई चनाखो रहन आग्रह गरेको हो । हुन पनि केही समय यता नै वन डढेलो तथा वन क्षेत्रमा आगलागी सुरु भइसकेको छ । आगलागी कति भयानक हुन्छ ? हालै मात्र अमेरिका र भारतमा भएको आगलागी र क्षति हेरे काफी हुन्छ । संसारकै शक्तिशाली देश अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा लागेको आगलागीबाट ११ हजारभन्दा बढी घर तथा भौतिक संरचनाहरू ध्वस्त बनिसकेका छन् । आगलागीका कारण दर्जनौ मानिसको मृत्यु भयो भने करिब २ लाख मानिसलाई आगलागी प्रभावित क्षेत्रबाट अन्यत्र सारियो । रोयटर्सका अनुसार लस एन्जलिसमा आगलागीका कारण हालसम्म १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ । विमानबाट समुन्द्रको पानी र आगो निभाउने सामग्री खसाएर जनधनको रक्षा गर्ने प्रयास गरिए पनि सफल हुन सकेन । छिमेकी देश भारतको जंगलमा लागेको आगो विमानबाट पानी लिएर नियन्त्रणमा लिने प्रयास गरियो । त्यो पनि सफल हुन सकेन, लाखौं हेक्टर जमिन नष्ट भयो ।
नेपाल विश्व मानचित्रमा बहुप्रकोपीय जोखिम भएको देशमा गनिन्छ । जहाँ विभिन्न किसिमका विपद मध्ये संख्या र क्षतिको हिसाबले आगलागी पहिलो विपद्को रूपमा देखिन्छ । बढ्दो तापक्रम, प्रतिकुल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण नेपालमा पनि वन डढेलो तथा आगलागीका घटना नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । हालैको अमेरिका र भारतको दुई घना आगलागीका घटनाबाट नेपालले जरुर पाठ सिक्नुपर्छ । नेपालका कैयन वस्तीहरु यस्ता छन्, जहाँ कुनै एक घर या स्थानमा आगलागी भयो भने नियन्त्रणमा लिन दमकल जाने स्थान छैन । अरु नियन्त्रणका प्रयाप्त उपकरण र जनशक्ति सरकारसँग छैन । यस्तो बेलामा रामनाम र पशुपतिनाथ आफ्ना भगवान जप्नु बाहेक अरु विकल्प हुने छैन । यद्यपि, आगलागी मानव सिर्जित विपद् हो । यसलाई नियन्त्रण र क्षति न्यूनीकरण गर्नको लागि सचेतनाको जरूरी छ । मानवीय अज्ञानता, असावधानी र लापरबाहीको कारण हुने आगलागी मानवीय नियन्त्रण भन्दा बाहिर गयो भने यसले भयानक रुप लिन सक्छ भन्न ताजा घटना र उदाहरणबाट पाठ सिकौ । विपद् नियन्त्रण र व्यवस्थापनको यथोचित पूर्वतयारी गरौं ।