आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले आफ्नो खत्री एग्रो फर्ममा एउटै काउली १२ किलोको उत्पादन गर्न सफल हुनुभएको छ । २०६६ सालमा एउटा प्लाष्टिक टर्नेलबाट तरकारी खेति थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्री यतिवेला यस क्षेत्रकै सफल कृषकमा गनिनुहुन्छ ।
खत्रीले गत वर्ष ९ केजीको काउली फलाएपछि कृषि ज्ञान केन्द्रबाट समेत जिल्लाकै उत्कृष्ट किसानको रुपमा पुरस्कृत हुनुभएको थियो । पुरस्कृति भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेपछि यस वर्ष १२ केजी ८८० ग्रामको एउटै काउली फल्न सफल भएको बताउनुभयो ।
२०६६ सालअघि ज्यालामजदुरी गर्दै आउनुभएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फर्मको मालिक हुनुहुन्छ । श्रमिकदेखि मालिक बन्नुभएका खत्रीले उत्पादन भए मध्येको सबैभन्दा ठूलो काउली तौल गर्दा १२ किलो ८८० ग्राम भएको बताउनभयो । खत्रीको अहिले साना ठूला गरी ८ प्लाष्टिक टर्नेलमा तरकारी खेति छ ।
कृषि क्षेत्रको निरन्तर परिक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतिमा रमाउने क्रममा यस पटक १२ केजी ८८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिनुभयो ।
“गत वर्ष ९ किलोको काउलै फलाएपछि कृषि ज्ञान केन्द्रले उत्ृकष्ट किसानको रुपमा नगद सहित पुरस्कृत ग¥यो, त्यैकारणले काउली फलाउन झनै मेहनत गरे, यस पटक फर्ममा निकै ठूला काउली फलेका थिए, फर्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा गत वर्षको तुलनामा तीन केजी बढी भएको काउलै फलेको पाइयो” खत्रीले भन्नुभयो “लामो समयको मेहनत र परिश्रम गरे सफल भइदो रहेछ, किसानले समेत नाम र दाम दुबै कमाउन सकिने रहेछ, अहिले जिल्लाभर आफ्नो परिचय समेत कायम भएको छ ।”
आफ्ना साथीभाई बैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाउदै गाउँमै उद्यमी बनेको सुनाउनुभयो । स्वदेशमानै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लिन खत्रीले वार्षिक १० देखि १२ लाख आम्दानी गर्दै आउनुभएको छ ।
“चार÷पाँच किलो सम्मको काउली त प्लाटिक टनेलमा फलेकै थिए, गत वर्ष अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा ९ केजी रहेको पाइयो, त्यही काउलीले पुरस्कृति भएपछि यस पटक झनै ठूलो काउली भएको हेर्न चाहान्थे, यस पटक झनै ठूलो काउली फल्यो स्नोम्याटिक जातको काउली माघ १४ गते सोमबा टिपेर जोख्दा १२ केजी रहेको पाइयो, काउलीको तौल गरेको फोटो तथा भिडियो कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु”–खत्रीले भन्नुभयो । अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताउनभुयो ।
तरकारी खेति फष्टाउदै गएपछि भाडामा ८ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै खत्रीले व्यावसायीक तरकारी खेती गर्दै आउनुभएको छ । खत्रीको फर्ममा ८ वटा प्लाष्टिक टनेल मध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधि सहयोगमा आफू सफल भएको बताउनुभयो ।