अलैँची बेचेर बागलुङमा भित्रियो ६ करोड रुपैयाँ

सिर्जना पन्त, बागलुङ
बागलुङमा पछिल्लो समय अलैँची खेती विस्तारसँगै उत्पादनमा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा बागलुङका कृषकले ४८ मेट्रिकटन अलैँचीउत्पादन गरेका छन् । प्रतिकेजी १२ सय ५० रुपैयाँ दरले अलैँची बेचेका कृषकले बागलुङ जिल्लामा ६ करोड रुपैयाँ भित्राए ।

अलैँचीको मुल्य चित्तबुझ्दो नभएपनि यहाँका कृषक निरास भने भएका छैनन् । उत्पादन बढ्दै जाँदा अलैचीले पनि राम्रो मुल्य पाउने आशामा प्रत्येक वर्ष अलैँची खेती विस्तार गरिरहेको जैमिनी नगरपालिका वडा नम्बर २ का कृषक बलिभद्र सापकोटाले बताउनु भयो । उहाँका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मुल्य कम पाएका छन् ।

आर्थिक वर्ष ०७८÷०७९ मा जिल्लाको १ सय २८ हेक्टर जमिनमा अलैँची खेती गरिन्थ्यो । ८० हेक्टर जमिनमा लगाएको अलैँचीले ४२ मेट्रिकटन उत्पादन दिएको थियो । ९ सय ५० रुपैयाँ प्रति केजीका दरले बेच्दा कृषकले ३ करोड ९९ लाख पारेका थिए ।

आर्थिक वर्ष ०७९÷८० मा १ सय ३१ हेक्टर जमिनमा खेती विस्तार भयो । ९० हेक्टरमा लगाएको अलैँची उत्पादन दियो । तर, अलैँचीको फेद कुहिने, पात डाठ सुक्ने रोकको संक्रमण भएपछि उत्पादन घट्यो । ३८ मेट्रिकटन उत्पादन हुँदा त्यसवर्ष कृषकले ३ करोड ३८ लाख रुपैयाँ आम्दानी गरे ।

चालु आर्थिक वर्षमा पनि जिल्लाका कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेका छन् । तर, कति विक्रि भयो र उत्पादन कति भयो भन्ने तथ्याङ्क संकलनकै क्रममा रहेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । यतिबेला जिल्लाको १ सय ४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार गरिएको छ । जसमध्ये ९६ हेक्टरमा लगाएको अलैचीले उत्पादन दिन थालेको कृषि ज्ञान केन्द्र बागलुङका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

बागलुङका १० स्थानिय तहमध्ये ८ वटा स्थानिय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्विकृत भएर कार्यान्वयन समेत थालिसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई बागलुङका निमित्त बरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताउनु भयो ।

बागलुङका १२ वटा अलैँची पकेट क्षेत्र र २ वटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको हो । बागलुङको ताराखोला गाउँपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको अधिकारीले बताउनु भयो ।

अलैँची खेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने उहाँको भनाई छ । कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मुल्यमा पनि विक्रि गर्ने गरिएको उहाँको भनाई छ । छिर्केफुर्के नामको रोगका कारण सोचेजस्तो उत्पादन वृद्धि नभएको उहाँको भनाई छ । यो रोगका कारण अलैँचीको गाना कुहिने, पात र डाठ सुक्ने, बोट ओइलाउने समस्या बढिरहेको अधिकारीले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *