बागलुङमा रु २६ करोड ४६ लाख बढीको सुन्तला उत्पादन

डम्मर बुढा मगर, बागलुङ
यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पारेका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिक टनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिक टनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० रहेकोमा यस वर्ष बढेर रु ६५ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उहाँको भनाइ छ ।

अघिल्लो वर्ष रु २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भन्दै यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिंचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन किसानलाई प्राबिधिक सहयोगसहित अनुदान दिने गरेको उहाँ बताउनुहुन्छ ।

अधिकारीले भन्नुभयो – “अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आयो तर मूल्यका हिसाबले भने बढेको छ, किसानले तुलनात्मक रुपमा यस वर्ष घाटा व्यहोर्नु परेको छैन, थोरै भए पनि फाइदानै लिनु भएको छ, यस वर्ष रु ५ ले मूल्य बढेको हुँदा किसान समस्यामा पर्नु भएको छैन, अझै पनि किसानहरुले सुन्तला बजार पठाई राख्नु भएको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । त्यस मध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका विरुवाले उत्पादन दिएका छन् । जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

काठेखोला किसान लोकनाथ कँडेलले यस वर्ष रु १३ लाख ५० हजारको सुन्तला उत्पादन गरेको बताउनुभयो । गत वर्षको भन्दा उत्पादनमा कमी आए पनि आम्दानी भने बढी भएको बताउनुभयो । पोहोर साल रु ११ लाखको सुन्ताल विक्री गरेको उहाँले सुनाउनुभयो । आफ्नो बगैचामा ३०० बोट सुन्तला रहेको भन्दै यस वर्ष २१० बोटल फल दिएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *