आदर्श सञ्चार, बागलुङ
स्थापना कालदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको ढोरपाटन नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण भएको छ । तीन वर्ष अगाडि निर्माण सुरु भएको प्रशासकीय भवन यही माघ महिनामा सम्पन्न भएको हो ।
निर्माण सकिएसँगै प्रशासकीय भवनबाटै सेवा प्रवाह गर्न तर्फ नगरपालिका लागेको छ । भवन निर्माण गर्न आर्थिक वर्ष २०७८/०७९ सुरु भएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो । छ तलासहितको पक्की भवन निमार्ण भइसकेको हुँदा अब नागरिकलाई आफ्नै कार्यालयबाट सेवा दिने उहाँको भनाइ छ ।
रु ४ करोड ५९ लाख ३४ हजारमा निर्माण भएको भवन सुरुमा उपभोक्ता समिति र पछि निर्माण कम्पनीले काम गरेको उपप्रमुख कायत बताउनुहुन्छ । भाडाको घरबाट सेवा प्रवाह गर्दा सेवा प्रभावमा समस्या भएको भन्दै अब सहज हुने उहाँको भनाइ छ ।
उपप्रमुख कायतले भन्नुभयो – “यो भवन अघिल्लो कार्यकालमै बन्नु पर्ने थियो, तर जग्गा व्यवस्थापन नहुँदा केही समस्या भएको थियो, अहिले भवन निर्माण भइसकेको हुँदा अब केही दिनमै आफ्नै भवनमा सर्ने छौँ, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह आउनुहुने भएको छ ।”
भवन निर्माण भए पनि पार्किङ लगायत अन्य व्यवस्थापनका काम भने बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । हालसम्म तीन वटा घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको उहाँको भनाइ छ । हरेक महिना घर भाडामा मात्रै नगरपालिकाले रु दुई लाख बढी खर्च गर्दै आएको हुँदा आफ्नै भवनबाट सेवा सुरु गरेर वार्षिक रु २५ लाख बढी बचत हुने घिमिरे बताउनुहुन्छ ।
भाडाका घरमा कार्यकक्ष फरक फरक ठाउँमा हुँदा कर्मचारी र सेवाग्राहीलाई समस्या पर्ने गरेको उहाँको भनाइ छ । एकै ठाउँबाट हुने काम कोठा छुट्टाछुट्टै ठाउँमा हुँदा धेरै समय लाग्ने गरेको घिमिरेले बताउनुभयो । आफ्नै भवनबाट सेवा दिन थालेपछि जनताको काम छिटो र सहज रुपमा गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
“यतिका समयसम्म नगरपालिका अरुको घर भाडामा लिएर काम गर्दै आएको थियो, सेवाग्राहीहरु झुक्किने, समयमै काम हुन नसक्ने र कर्मचारीहरुले विभिन्न ‘नेटवर्क’मार्फत काम गर्नु पर्ने हुँदा धेरै समस्या थियो” उहाँले भन्नुभयो – “अब सबै शाखाहरु एउटै भवनबाट संचालन हुने छन् भने सेवाग्राहीहरु पनि नगरपालिकाको हुन शाखा कुन घरमा छ भनेर झुक्किनु पर्ने छैन ।”