बाल पुस्तकालय शुभारम्भ


आदर्श अनलाइन, बागलुङ
विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयभित्र बालबालिकालाई छुट्टै पुस्तकालयको व्यवस्था गरिएको छ । बाल पुस्तकालय सञ्चालनका लागि चालिएको अभियानबाट संकलित रू पाँच लाख लागतमा बाल पुस्तकालय स्थापना गरिएको छ ।

बाल पुस्तकालयको आईतबार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । स्रोत व्यवस्थापन र दिगोपनाका लागि विभिन्न दाताहरुले अक्षयकोष खडा गरेर पुस्तकालय स्थापना गरिएको हो । उद्घाटनपछि बोल्दै नगरप्रमुख श्रेष्ठले बालमैत्री नगरको अंगको रूपमा बालमैत्री पुस्तकालय रहेको बताउनुभयो । उहाँले पाठकको रूचि अनुसार पुस्तकालय परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । श्रेष्ठले ईतिहास बोकेको पुस्तकालयले बालबालिका केन्द्रित गरेर सामाग्री बनाईएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले पुस्तकालयको महत्व आधुनिक युगमा समेत बढेको बताउनुभयो ।

कार्यक्रममा पुस्तकालयका पुर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बाल पुस्तकालको अवधारणाको विषयमा राख्नुभएको थियो । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष राचन्द्र शर्माको स्वागत तथा सचिव राजन प्रसाद शर्माको सन्चालनमा सम्पन्न भएको थियो । बाल पुस्तकालयका लागि आवश्यक पर्ने सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री राखेर स्थापना गरिएको छ ।

जहाँनिया राणाकालको प्रतिकूल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा यस पुस्तकालयलाई लिने गरिन्छ ।
स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक संग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् । पुस्तकालयमा विसं २०७२ देखि विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ ।

प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवंगत ओमप्रसाद गौचन र मेघकुमार वैद्य छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *