आदर्श सञ्चार, बागलुङ
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको क्रियाशील पत्रकारीता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत हुने भएका हुन् । उक्त पुरस्कार २०७२ सालमा स्थापना गरेर प्रदान गरिदै आइएको छ ।
यस्तै गत वर्षबाट प्रदान गरिदै आएको प्रेस चौतारी युवा क्रियाशील पत्रकारितका पुरस्कार यस वर्ष आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकका सह–सम्पादक खेमराज गौतमलाई प्रदान गरिने भएको छ । पत्रकारद्वय आचार्य र गौतम २०७५ सालदेखि राष्ट्रिय समाचार समितिमा समेत आबद्ध रहेका छन् ।
सोमबार बसेको प्रेस चौतारी जिल्ला कमिटिको बैठकले छनोट समितिको सिफारीसका आधारमा आचार्य र गौतमलाई पुरस्कृत गर्ने निर्णय गरेको जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो ।
जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको क्रियाशील पत्रकारीता पुरस्कार जेष्ठता, क्रियाशीलता, निरन्तरताका आधारमा हरेक बर्ष अग्रज पत्रकार छनोट गरेर प्रदान गर्दै आएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । यसअघी उक्त पुरस्कार कोषबाट नौ जना पत्रकार पुरस्कृत भैसकेका छन् ।
त्यस्तै २०७९ सालमा स्थापना गरिएको युवा पत्रकारीता पुरस्कार गौतमलाई प्रदान गर्न लागिएको हो । युवा क्रियाशील पत्रकारीता पुरस्कार गत वर्ष तारानाथ आचार्यलाई प्रदान गरिएको थियो । यस वर्ष क्रियाशील पत्रकारितका पुरस्कार छनौटमा समितिमा पूर्व केन्द्रीय सचिव रामृकष्ण शर्माको संयोजकत्वमा सल्लाहकार रामृकष्ण बोहोरा र जिल्ला अध्यक्ष सृजना पन्त रहनुभएको थियो ।
यस्तै युवा क्रियाशील पत्रकारिता पुरस्कार छनौट समितिमा प्रेस चौतारी गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्माको संयोजकत्वमा पूर्व जिल्ला इन्चार्ज खिम कार्की र जिल्ला अध्यक्ष सिर्जना पन्त रहनुभएको थियो ।
प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार जेष्ठता, क्रियाशीलाता र निरन्तरताका आधारमा दिइने कार्यविधि रहेको छ भने युवा क्रियाशील पत्रकारिता पुरस्कार जिल्लाको सक्रिय पत्रकारलाई दिइने छनौट समितिका संयोजक उमाकान्त शर्माले जानकारी दिनुभयो ।
समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । दुवै पुरस्कारको राशी दश÷दशहजार रुपैयाँ रहेको अध्यक्ष सिर्जना पन्तले बताउनुभयो । प्रेस चौतारी नेपालको ८ औं अधिवेशन तथा २० औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार पुरस्कार प्रदान गरिने छ ।