मुस्ताङमा १६ जिल्लाका प्राबिधिकलाई उच्च घनत्वमा स्याउ खेती प्राविधि तालिम

आदर्श सञ्चार, मुस्ताङ
मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा देशका १६ जिल्लाका १८ जना कृषि प्राविधिकहरुले उच्च घनत्वमा स्याउ खेती प्रविधि विषयक तालिम लिनु भएको छ ।

माघ २० देखि शुरुभएको तालिम आज २२ गते सकिएको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार देशभरबाट १६ जिल्लाबाट दुई महिला र १६ पुरुष गरी १८ जनाको सहभागिता रहेको छ । तालिममा दोलखा र डोल्पा जिल्लावाट २÷२ जना र जुम्ला, पाल्पा, प्युठान, बाग्लुङ, म्याग्दी, सिन्धुपाल्चोक, नुवाकोट, सल्यान, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, दैलेख र तनहुँ जिल्लाबाट एकएक जनाको सहभागिता रहेको छ ।

तालिममा सकेसम्म बढि ब्यवहारिक ज्ञान दिने प्रयास गरिएको शीतोष्ण बागवानी विकास केन्द्रले जनाएको छ । तालिममा करिव ६० प्रतिशत व्यवहारिक र ४० प्रतिशत हाराहारी सैद्धान्तिक कक्षाहरु भएकोले तालिम बढी व्यवहारीक भएको जनाइएको छ । उच्च घनत्वमा स्याउ खेती प्रविधि विषयक तालिममा सहभागिहरु छनौट गर्दा अनलाईन दरखास्त आह्वान गरि छनौट गरीएको थियो ।

तालिममा संघ, प्रदेश र स्थानिय तहका कृषि प्राबिधिकहरुको सहभागिता रहेको तालिममा मार्फामा गरिएका उच्च घनत्व स्याउ खेतिका प्रविधिहरु देखाउने, सिकाउने गरीएको थियो । साथै उच्च घनत्व स्याउ उत्पादनका लागि आवश्यक गुणस्तरिय विरुवा उत्पादनका प्रविधिहरुका वारेमा कृषि प्राविधिकहरुलाई ब्यवहारिक रुपमा सिकाउने रहेको थियो ।

तालिमका संयोजक प्राविधिक सहायक डम्वर सार्कीका अनुसार उच्च घनत्वमा स्याउ खेती प्रविधि नेपालको लागि अत्यन्त नविन प्रविधि हो । विश्वमा यो प्रविधिको शुरुवात् सन् १९६० तिर भएता पनि नेपालमा भने यसको ईतिहास त्यति पुरानो छैन । यस प्रविधिमा प्रति ईकाई क्षेत्रफलमा बढि भन्दा बढि विरुवा संख्या अटाएर छोटो समयमा बढि भन्दा बढि उत्पादन लिन सकिने भएकोले नेपालको भूगोल र माटो सुहाउँदो भएकाले उच्च घनत्व स्याउ खेती गरिनु पर्ने उहाँले बताउनुभयो ।

तालिममा उच्च घनत्व स्याउ खेतीको बगैंचा ब्यवस्थापन, मुख्य अवयवहरुका साथसाथै डच कट, नोचिङ्ग, स्नेकिङ्ग बिधिको बारेमा जानकारी गराइएको थियो । साथै सायन तथा रुटस्टक छनौट र प्रसारण गर्ने प्रमुख बिधिहरु टङ्ग ग्राफ्टिङ्ग, स्याउको फूल फुल्ने प्रकृया, तालिम तथा काँटछाँट, वाक्सिङ्ग, टप वर्किङ्ग, नेचुगी र ब्रिज ग्राफ्टिङ्ग विधिहरुको वारेमा ब्यवहारिक रुपमा सहभागिहरुलाई सिकाईएको शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।

तालिममा नेपालमा उच्च घनत्व स्याउ खेतीको बर्तमान अवस्था, ईतिहास, तुलनात्मक लाभहरु, चुनौति तथा भावि योजना, उच्च घनत्वमा स्याउ खेतीका प्रमुख अवयवहरु र मुख्य मुख्य जातहरुको बारेमा जानकारी गराइएको थियो । त्यस्तै बगैंचको रेखाङ्कन, रोपण, सिंचाई तथा खाद्यतत्व ब्यवस्थापन, स्याउ खेतीमा तालिम तथा काँटछाँट र टल स्पाईन्डल सिस्टम एवम् गुणस्तरीय विरुवा उत्पादनका लागि बानस्पतिक तन्तु प्रजनन् बिधिको बारेमा जानकारी गराइएको थियो ।

उच्च घनत्व स्याउको हार्भेष्टिङ्ग, ग्रेडिङ्ग, बजार व्यवस्थापन तथा लाभ लागत अध्ययन, उच्च घनत्वमा स्याउ खेतीको मासिक कार्य तालिका, बोर्डो मिश्रण तथा बोर्डो पेष्ट बनाउने तरिका तथा उच्च घनत्व स्याउमा यसको प्रयोग, स्याउ सायनको मैनबाट उपचार, टप वर्किङ्ग तथा नेचुगी गर्ने तरिका र विधिको बारेमा ज्ञान प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्