इमेज सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु

आदर्श सञ्चार, बागलुङ

बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहनुभएका देव कुमार नेपाली र बचतकर्ताबीच मिलापत्र गरेर बचत फिर्ताको कार्य शुरु भएको छ । बचत पीडित संघर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचत कर्ताको रकम फिर्ता गर्ने काम थालिएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले एक वर्ष भित्र साना बचत कर्तालाई नगद र ठुला बचत कर्तालाई जग्गा फिर्ता गर्ने शर्तमा मिलापत्र गरे लगत्तै बचत फिर्ताको काम थालिएको संघर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताउनुभयो ।

एक लाख रुपैयासम्म बचत रहेका वचतकर्तालाई बचत फिर्ताको काम थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु. ३७ लाखको चेक ९२ जना बचतकर्तालाई फिर्ता गरिएको संघर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले जानकारी दिनुभयो । यस्तै सोमबार गलकोटका १४७ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको शर्माले बताउनुभयो । दुई दिनमा रु. एक करोड रकम बचत फिर्ता गरिएको छ ।

गलकोट र ढोरपाटनका ५४७ बचतकर्तामध्ये एक लाख सम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने गरी प्रकृया अगाडि बढाइएको शर्माको भनाई छ । बाँकी बचत कर्ताको रकम फिर्ताको लागि मिना ग्रुप कम्पनी प्रा.लि मार्फत थालिएको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाख सम्म बचत गरेका गलकोट र ढोरपाटनका बचत कर्ताले आफ्नो बचत फिर्ता पाउन थालेपछि बचत कर्तामा उत्साह छाएको छ ।

मिलापत्र सकिएपछि जेलबाट देव कुमार छुट्नेछन् भने सहमती अनुसार एक वर्ष भित्र साना बचत कर्तालाई नगद र ठूला बचत कर्तालाई मिना ग्रुप मार्फत जग्गा उपलब्ध गराउने सहमति भएको छ ।

बचत कर्ताको रकम फिर्ता गर्ने लिखित सहमतीपछि अदालतमा मिलापत्रको काम थालिएको र अहिले सम्म ५४७ जना पीडित र देब कुमार बीच मिला पत्र भइसकेको अन्य एक हजार पीडितसंग मिलापत्रको काम थालिएको इमेज बचत पीडित संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो । एक लाख सम्मका ४८८ बचत कर्ता भएको कार्कीले बताउनुभयो । उनीहरुलाई नगद र एकलाख माथिका बचत कर्तालाई जग्गा दिने तयारी भएको छ ।

बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको इमेज बचत तथा खोलेर सहकारी चलाएका देवकुमार नेपालीले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने सहमति जनाएपछि ढोरपाटनबाट बचत फिर्ताको काम थालिएको हो ।

५४७ जनाको २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार १०० बचत कर्ताको एक अर्ब १५ करोड बचत रकमको सहमती गरिने कार्कीले बताउनुभयो ।

सहकारीको करिव २ अर्ब हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो । बागलुङको सहकारीबाट १ अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो । सहकारीको रकम अपचलन गरेको दाबी सहित देवकुमार सहित ११ जना विरुद्ध बागलुङ अदालतमा मुद्दा दायर गरेको थियो । १ हजार ५४३ जनाको उजुरीको आधारमा अनुसन्धान अनुसार नेपाली कारागारमा हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *