डम्मर बुढा मगर, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले बचत रकम फिर्ता पाउन थालेका छन् । बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहनुभएका संस्थापक अध्यक्ष एवम् ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीसँग मिलापत्र गरेपछि रकम फिर्ता गर्न थालिएको हो ।
नेपालीले एक वर्ष भित्र साना बचत कर्तालाई नगद र ठुलालाई जग्गा फिर्ता गर्ने शर्तमा मिलापत्र गरे लगत्तै रकम फिर्ता गर्न सुरु भएको हो । सुरुमा बुर्तिबाङ र गलकोटका २८८ जनाको एक करोड १५ लाख रुपैयाँ बचत फिर्ता गरिसकेको इमेज संघर्ष समितिले जनाएको छ ।
बुर्तिबाङ र गलकोटका बचतकर्ताको २३ करोड ७५ लाख रुपैयाँ मध्ये २२ करोड ६० लाख रुपैयाँ बाँकी रहेको छ । आइतबारदेखि बागलुङका बचत कर्ताको रकम फिर्ता गर्न थालिएको छ । पहिलो दिन रु एक लाखभन्दा कम रकम भएका ४९ जना बचतकर्ताको २१ लाख ७८ हजार ४४ रुपैयाँ फिर्ता गरिएको छ । सहकारीको बागलुङ बजार कार्यक्षेत्रका ३१६ जना बचतकर्ताको रकम अपचलन भएको छ ।
इमेज सहकारीमा बागलुङका बचतकर्ताको एक अर्ब २८ करोड रुपैयाँ अपचलन भएको छ । लामो समयको संघर्षपछि बचतकर्ताको रकम फिर्ता गर्ने स्थितिमा आइपुगेको इमेज संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार एक लाख भन्दा कम रकम रहेका बचतकर्ताले पाउनु पर्ने रकम ३ करोड रुपैयाँ रहेको छ ।
पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गरिने संयोजक कार्कीले बताउनुभयो । पर्वतको मीना ग्रुपसँग सम्झौता गरेर बचतकर्ताको रकम फिर्ता गर्न थालेको उहाँको भनाइ छ । कार्कीले सबै बचतकर्ताले ढिलो चाँढो रकम पाउने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“सयौँ बचतकर्ताको एक अर्ब बढी रकम फिर्ता हुने क्रममा छ, सहकारीका संचालकहरुले बदमासी गर्दा बचतकर्ता निरास थिए, अहिले रकम फिर्ता हुन थालेको छ, यसका लागि हामीहरुले धेरै मेहनत ग¥यौँ, बुर्तिबाङ, गलकोट हुँदै अहिले बागलुङमा फिर्ता गर्ने काम सुरु भएको छ ।”
लामो समय सहकारी बन्द हुँदा बचत फिर्ता नहुने भन्दै निरास भएका बचतकर्ता रकम आउन थालेपछि खुसी हुन थालेका छन् । आइतबार सरकारी वकिल कार्यालय बागलुङमा सरोकारवाला नियकासँगको रोहवरमा बचतकताको रकम फिर्ता गर्न थालिएको हो ।
सहकारीको करिब २ अर्ब हिनामिना भएकोे प्रतिवेदन प्रहरीले तयार गरेको थियो । बागलुङको सहकारीबाट १ अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । सहकारीको रकम अपचलन गरेको दाबी सहित देवकुमारसहित ११ जना विरुद्ध बागलुङ अदालतमा मुद्दा दायर गरेको थियो । १ हजार ५४३ जनाको उजुरीको आधारमा अनुसन्धान अनुसार नेपाली कारागारमा हुनुहुन्छ ।