आदर्श सञ्चार, बागलुङ
सोनिया परियार मृत्यु प्रकरणमा आरोपितका विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता भएको छ ।
२१ गते राती काठेखोला गाउँपालिका ५ विहुँ स्थित आफ्नै घरमा मृत फेला परेकी १८ वर्षीया सोनियाका पति २४ वर्षीय सन्तोष भन्ने अगन्धर दर्जी विरुद्ध २७ गते जाहेरी दर्ता भएको हो ।
प्रहरीले जाहेरी नलिएको भन्दै पटक पटक पत्रकार र अधिकारकर्मीसँग सहयोग मागेका पीडितको जाहेरी पत्रकार र अनौपचारिक क्षेत्र सेवा केन्द्र्र इन्सेकको पहलमा दर्ता भएको हो । १३ वर्षको उमेरमा सन्तोषसँग प्रेम विवाह गरेकी सोनियाका ४ वर्षका छोरा छन् ।
२१ गते राती ९ बजे सोनियाले झुण्डिएर आत्महत्या गरेको भन्दै सन्तोषको परिवारले मंगलबार विहान प्रहरीलाई खबर गरेका थिए । सोनियाकै घर छेउमा घर भएकी सोनियाकी सहोदर दिदी पुर्णिमा परियारलाई राती १२ बजे खबर गरिएको थियो ।
सन्तोष र उसको परिवारले पटक पटक कुटपिट गर्ने, शारिरीक र मानसिक यातना दिने गरेको सोनियाले माइतीलाई बताएकी थिइन् । सोनियाले दिदी पूर्णिमालाई मृत्यु हुनुभन्दा पहिले साँझ ७ बजे समेत सन्तोषले कुटेको भन्दै म्यासेज गरेकी थिइन् ।
परिवारबाट बहिनीले यातना पाएको, पटक पटक जनप्रतिनिधि र प्रहरीको रोहवरमा मिलपत्र गरिएको भएपनि यातना सहन नसकेर मर्न बाध्य भएको बताउँदा समेत जाहेरी नलिएको भन्दै पीडित पक्षले पत्रकार र अधिकारकर्मी गुहारेका थिए ।
प्रहरी उपरिक्षक ऋषिराम कंडेलले आइतबार पीडितको जाहेरी लिएको बताउनु भयो । उहाँले मृतकको मोवाइल फोन अनुसन्धानका लागि पठाइ सकेको र थप अनुसन्धान समेत सुरु गरिएको जानकारी दिनुभयो ।