अमृत बास्कुने, म्याग्दी
जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीमा १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरु बीचमा ४२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्ला स्तरीय राष्ट्«पति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन् गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेलकुदमा संघीय र प्रदेश सरकारबाट म्याग्दी जिल्लालाई अन्याय भएको गुनासो गर्नुभएको थियो । खेलाडीको पहिचान तथा खेल क्षेत्रको भौतिक पूर्वाधारमा राज्यका निकायबाट हुनुपर्ने सम्म पनि सहयोग नभएको भन्दै स्थानीय तहको प्रयासमा खेलकुद गतिविधिमा सहभागि हुनुपर्ने बाध्यता रहेको बताइएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, बेनी नगरपालिकाका ईश्वर न्यौपानेले रजत र बेनीकै सुजन रानामगरले कास्य पदक तथा छात्रातर्फ मालिका गाउँपालिकाकी कमला बुढाले स्वर्ण, रघुगंगा गाउँपालिकाकी सोनिया भण्डारीले रजत, रघुगंगाकै सुप्रिया नगरकोटीले कास्य पदक जित्न सफल हुनुभएको थियो ।
विजेता खेलाडीहरुलाई बेनी नगर प्रमुख सुरत केसी, बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
मंगलबार सम्पन्न हुने प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका सदस्य कुमार किसानले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
चालु प्रतियोगितामा एथलेटिक्स तर्फ २६, भलिबलमा २, कबड्डीमा २ र मार्सलआर्ट तर्फ उसुमा १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ । आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबलमा २०, कबड्डीबाट २०, मार्शल आर्टको उसुमा १२, कराँते १२ र तेक्वान्दो १२ तथा एथलेटिक्समा २४ जना खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् ।