१५ हजार राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन बागलुङमै थन्किए


खेमराज गौतम, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार ८३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । परिचयपत्रका लागि बायोमेट्रिक सहितको फर्म दर्ता गरेको सेवाग्राही परिचय पत्र लिन नआएपछि परिचयपत्रको जिल्ला प्रशासन बागलुङको कार्यालयमा चाङ लागेको छ ।

राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासन शाखाका राम प्रसाद उपाध्ययाले जानकारी दिनुभयो । उपाध्यायले नयाँ परिचयपत्रका लागि दैनिक दुई सय सम्म सेवा ग्राही आउने भएपनि तयारी अवस्थामा रहेको परिचयपत्र लिन भने न्यून मात्रै आउनेगरेको जानकारी दिनुभयो । दैनिक २० देखि ५० जना मात्रै सेवाग्राही परिचय पत्र लिन आउनेगरेकाले परिचयपत्रको थुप्रो लागेको हो ।

अहिले वडा तहमै समेत राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्य भइरहेको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले सम्म २८ हजार ८८५ राष्ट्रिय परिचय पत्र तयार भएर आइसकेको उपाध्यायले बताउनुभयो । जसमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्रै सेवाग्राहीले लगेका छन् भने १५ हजार ८३८ परिचय पत्र प्रशासनमै रहेको बताउनुभयो ।

“पचिरयपत्र पासपोर्ट र वृद्धभत्ताका लागि अनिवार्य गरेपछि आवेदन दिनेको संख्या बढी रहेको भएपनि परिचय पत्र नम्मरका आधारमा काम हुनेभएपछि परिचय पत्र लिन नआएको, अधिकांश विदेश भएका कारण नआएको पाइएको छ” उपाध्यायले भन्नुभयो “परिचय पत्र वितरणका लागि बरेङ गाउँपालिका र तमानखोला गाउँपालिकामा शिविरै राखेको भएपनि परिचय पत्र लिन न्यून संख्यामा मात्रै सेवाग्राही आउने गरेको पाइयो ।”

परिचयपत्र लिनका लागि स्वयं व्यक्तिनै आउनुपर्ने र पुन बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचय पत्र वितरणको संख्या न्यून भएको हो । परिचयपत्रका आधारमा नागरिक एपमा समेत परिचय पत्र देखाउन सकिने भएकाले परिचयपत्र लिन नआएको जिल्ला प्रशासन कार्यालयको अनुमान रहेको छ ।

परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ । परिचय पत्रको जिल्ला प्रशासन कार्यालयमा चाङ लाग्दा परिचय पत्र भण्डारनमा समेत समस्या भएको छ । राष्ट्रिय परिचयपत्र विरुद्धको सर्वोच्चको रिट खारेजी निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचय पत्रको हो । अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिनने राष्ट्रिय परिचय पत्रमा बाहकको दश औठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ ।

चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेत समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झन्झट हुँदैन ।

राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्यु सम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *