सम्पादकीय/ ग्यास सिलिन्डरको प्रयोगमा यसरी ब्यापकता आएको छ कि दुरदराजका गाउँ घर, जहाँ दाउराबाट खाना पकाइन्थ्यो, त्यहाँ त्यहाँ पनि ग्यास सिलिन्डरकै प्रयोग अधिकतम हुन थालेको छ । पछिल्लो समय त कुनै घर यस्तो छैन, जहाँ ग्यास नपुगेको होस् । ग्यास सिलिन्डरको सहज उपलब्धताले जीवन दैनिकीमा सहजता त ल्याएको छ नै, उत्तिकै जोखिम र खतरा पनि भित्रिएको घटनाक्रमले देखाएको छ । गत साता काठमाडौंको कमलपोखरीस्थित ‘सानदार मःम’ पसलमा खाना पकाउने क्रममा एलपी ग्यास सिलिन्डर विस्फोट भयो । जहाँ ११ जना घाइते भएका थिए । त्यसमध्ये घाइते दुई जनाको उपचार क्रममा ज्यान गएको छ । संघीय राजधानीको केन्द्रमा भएको भयानक दुर्घटनाले नेपालमा पुनः एक पटक ग्यास सिलिन्डरको सुरक्षा र यसमा सरोकारवालाको भूमिकाबारे प्रश्न खडा गरेको छ ।
नेपालमा ग्यास प्रयोगको इतिहास ५५ वर्ष पुरानो छ । अहिले नेपालमा ५९ ग्यास उद्योग सञ्चालनमा छन् । संघका अनुसार अहिले नेपालमा १ करोड ७५ लाख सिलिन्डर छन् । देशभरि १२ हजार विक्रेता डिलरले ग्यास घरघरमा पु¥याउने गरेका छन् । यद्यपि, देशभरि ४३ प्रतिशत घरपरिवारमा मात्र ग्यासको पहुँच पुगेको छ । प्रयोगकर्ताको संख्या बढ्दै जाँदा जोखिम समेत बढ्ने निश्चित छ । सहरी इलाकामा समेत असुरक्षित ग्यास प्रयोग ग्रामीण भेगमा अझ जोखिमपूर्ण हुन सक्छ । ग्यास किन र कसरी बिष्फोट भइरहेको छ र हुन्छ ? यसका अनेकन कारण देखिएको छ । सिलिन्डर विस्फोट हुनु वा ग्यास लिक हुनुमा निर्माण प्रक्रिया सही भए पनि त्यसपछिको स्टोरेज, ढुवानी, भान्सामा उपभोक्ताले प्रयोग गर्ने रेगुलेटर र पाइपको गुणस्तरको समेत भूमिका हुन्छ । बजारमा ग्यास सिलिन्डरमा ढुवानीकर्ताले गर्ने लापरबाहीबारे कुनै पनि निकायले अनुगमन गरेको पाइँदैन । नेपाल एलपी ग्यास उद्योग संघले भने ९० प्रतिशत दुर्घटना उपभोक्ताले जान–अन्जानमा गर्ने गल्तीका कारण भइरहेको बताउँछ । बजारमा औपचारिकतामा सीमित सरकारी अनुगमन र उत्पादक, विक्रेता र ढुवानीकर्ताले गर्ने लापरबाहीबाट जोखिममा उपभोक्ता परिरहेका छन् । तर, सरकारी संयन्त्र र उद्योगी भने सिलिन्डर दुर्घटनाको दोष उपभोक्तालाई दिएर आफ्नो दायित्वबाट पन्छिने गरेका छन् ।
ग्यास सिलिन्डर बिष्फोटका घटना जे जति भएका छन्, ती डरलाग्दा छन् । अपुरणीय क्षति भएका घटना छन् । जसले सिलिन्डरको प्रयोगसँगै यथोचित सचेतता र जागरण अपरिहार्य भएको प्रतीत भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत ग्यास सिलिन्डरको सुरक्षाभन्दा पनि बजारमा ग्यास आपूर्ति अवस्थाबारे मात्र अनुगमन गर्छ । विभिन्न समयमा गरिएको बजार अनुगमन दौरान म्याद सकिएका, लिकेज भएका, कुच्चिएका र बिग्रिएका सिलिन्डर पर्याप्त भेटिने गरेका छन् । यसले कुन बेला कहाँ अप्रिय दुर्घटनाको खबर आउँछ भन्ने भय र संशय व्याप्त देखिन्छ । परीक्षणमा पठाउन कम समय रहेका वा अवधि गुज्रिएका सिलिन्डर अनुगमन नगरी हेर्ने जिम्मा उपभोक्तामा मात्र छाड्दा बढी जोखिम भइरहेको छ । प्रयोगकर्ताको संख्या बढ्दै जाँदा जोखिम समेत बढ्ने निश्चित छ । सहरी इलाकामा समेत असुरक्षित ग्यास प्रयोग ग्रामीण भेगमा अझ जोखिमपूर्ण हुन सक्छ । अब बजारमा सिलिन्डर मात्र सुरक्षित पठाएर हुँदैन, पाइप र ग्यास चुलोको गुणस्तर, उपयोगमा पनि अनुगमन, सचेतना जागरण आवश्यक छ ।