कस्तुरी सहकारीका प्रबन्धक कुमारी सहकारीको रकम अपचलन आरोपमा पक्राउ


आदर्श सञ्चार, बागलुङ

कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षिय लोकेस भन्ने लोकबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्ने पुन बेनी नगरपालिका–७ संगम चोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रवन्धक हुनुहुन्छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले आफ्नो सहकारीका प्रवन्धकलाई प्रहरीले गिरफ्तार गरेको बताउनुभयो ।

बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षिय पुनलाई म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिडेको बचत रकम अपचलन गरेको आरोपमा गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलका अनुसार प्रहरीले बिहीबार गिरफ्तार गरी जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।

यस अगाडी गएको माघ २० गते कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले २३ गते सहकारीको बेनी नगरपालिका–८ मा मा रहेको कार्यालयलाई सिल गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले २० माघमा कुमारी बहुउद्देश्यीय सहकारीका पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षिय राजकुमार थापा, रघुगंगा गाउँपालिका–५ झिँका ६७ वर्षिय मनप्रसाद थजाली, अन्नपुर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षिय थमबहादुर गर्बुजा, पर्वत लेखफाँटका ५३ वर्षिय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षिय देवी कुमारी थापालाई गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत म्याग्दीबाट पहिलो पटक माघ २० गते तीन दिन र दोश्रो पटक माघ २३ गते पाँच दिनको म्याद थपेको प्रहरीले २७ गते तेश्रो पटक सात र चौथोपटक पनि सात दिनकै म्याद अदालतबाट थप गराएर अनुसन्धान गरी रहेको छ । बिहीबार गिरफ्तार गरिएका लोकबहादुर पुनलाई पनि माघ २० मा गिरफ्तार गरीएकै मिति अनुसार अनुसन्धान गर्दै म्याद सदर हुने गरी अनुसन्धान अगाडी बढाएको इन्सपेक्टर पौडेलले जानकारी दिनुभयो ।

सहकारी रष्टिार कार्यालय पोखराको चलानी नं. ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा नै अनुसन्धान भै रहेको र सोही प्रयोजनका लागि सहकारीका सञ्चालक तथा व्यवस्थापक एवम् अरुहरुलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेकोले प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले पिडीतहरुबाट माग गरेअनुसार निवेदनहरु आउने क्रम जारी रहेको बताउनुभयो । सञ्चालकहरुले केही बचतकर्ताको रकम फिर्ता पनि गरेको हुनाले फिर्ता हुन बाँकीको निवेदन माग गरीएको उहाँको भनाई छ ।

बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले सहकारी पिडीतहरुले निवेदन दर्ताका लागि जाँदा लेखापढी गर्नेहरुले पिडीतलाई ठगेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो–‘एउटा पानामा अलिकती शब्द लेखिएका छन् तर हजार हजार लिएको छ ।’ सहकारीमै पैसा फिर्ता हुने नहुने टुंगो छैन त्यस माथि पनि गाउँबाट बजार आउने भाडा, निवेदन लेख्ने वकिलले पनि त्यसैलाई मौका ठानेर रकम असुल्दा जनता मारमा परेका छन् ।

कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष यामबहादुर रोका भने मोबाइल बन्द गरेर लामो समय देखि सम्पर्क विहीन हुनुहुन्छ । प्रहरी निरीक्षक पौडेलले अध्यक्ष रोका सँग सम्पर्क हुन नसकेको बताउनुभयो । त्यस्तै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा अध्यक्षले सदस्यलाई कार्यवाहक दिएको र कार्यवाहक अध्यक्ष सँग तथा पालिका अध्यक्ष संग पनि सम्पर्कमा नरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *