आदर्श सञ्चार, बागलुङ
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकारले निराशा चिरेर आशा जगाउने काम गरि रहेको बताउनुभएको छ । शनिबार बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दुई ठूला दल मिलेर बनेको सरकारले विकासको गतिलाई तीव्रता दिन थालेको मन्त्री शाहीले बताउनुभयो ।
विगतमा राजनीतिक अस्थिरताका कारण जनतामा निराशा पैदा भएको भन्दै अहिले तीन÷तीन महिनामा सरकार बदलिने समस्या अन्त्य गरि विकास र समृद्धि तर्फ लागेको उहाँले दाबी गर्नुभयो । आफूहरु गठबन्धनप्रति इमान्दार भएर लागेको मन्त्री शाहीले बताउनुभयो । वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनुका साथै रोकिएका कामले पनि गति लिन थालेको उहाँको भनाइ छ ।
“अहिले गठबन्धन सरकार छ, यो सरकारले देशमा आशा जगाउने र भरोसा दिलाउने गरि काम गरि रहेको छ, गठबन्धनलाई बलियो बनाउँदै अस्थितरतालाई रोक्ने प्रयास भएको छ” मन्त्री शाहीले भन्नुभयो – “पहिलेको जस्तो निराश हुनु पर्ने अवस्था छैन, सरकारले सबै क्षेत्रको उत्थानका लागि गम्भीर भएर लागेको छ, नीति बनाउने र जनताको जनजीवनलाई उकास्नका लागि प्रयत्नहरु भइरहेका छन् ।”
मन्त्री शाहीले वनलाई जनतासँग र समृद्धिसंग जोड्ने गरि काम छ गरि रहेको भन्दै नयाँ बजेटमा सक्ने जति कार्यक्रममा जोड्ने बताउनुभयो । उहाँले नेपाली कांग्रे देशको जिम्मेवार पार्टी भएकोले जनताप्रति उत्तरदायी रहेको बताउनुभयो । पार्टीको कृयाशील सदस्य वितरण, आन्तरिक गुटलाई व्यवस्थापन गर्दै वि.सं. २०८४ को निर्वाचनमा ठूलो पार्टी बनाउने गरि काम गर्न कार्यकर्तालाई शाहीले आग्रह गर्नुभयो । वर्तमान सरकारको विकल्प र बाटो नभएको उहाँले दाबी गर्नुभयो ।