पोखरा, कोटिहोम विवाद र विकल्प

सम्पादकीय
पोखरा सुन्दरता, ताल, फेस्टिभल लगायतले सधैंजसो चर्चामा आइरहन्छ । तर, पछिल्लो केही समय यता कोटीहोम चर्को आलोचना र विवादको केन्द्रमा छ । मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले आउँदो वैशाख १७ देखि जेठ २६ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटिहोमको आयोजना गरेका हुन । फाउन्डेसनले पोखराको लेकसाइडस्थित क्याम्पिङ चौर र नेपाल ट्रस्टमातहतको बाराहीघाटमा गर्न लागेको कोटिहोम किन विवाद र आलोचित भइरहेको छ त ? यसमा धेरै कारण छन् । पहिलो त कोटीहोमका लागि दाउराको जोहो भन्दै पोखराका चोक चौतारीका रुखहरु मनपरी कटान गरियो । दोस्रो, आयोजक मानव सेवा आश्रमका संस्थापक रहेका विजय भण्डारी स्वयंम्मा विवाद र पटक पटक काण्डमा मुछिएका पात्र हुन् । उनले पोखरामा महानगरपालिका र स्थानीयसँग यथेष्ट समन्वय सहकार्य नगर्दा पवित्र कोटीहोम नै विवाद र अन्यौलताको भूमरीमा परेको छ ।

बिडम्बना भन्नुपर्छ, आफ्नै महानगरमा हुने कोटीहोमका लागि सहयोग, समन्वय गर्ने स्थानीय तहको बलियो सरकार तिनै भण्डारीले आयोजना गरेको कोटीहोम रोक्न अदालत धाउनु परेको छ । नेपाल ट्रस्टले कोटिहोम आयोजनाका लागि ट्रस्ट मातहत रहेको क्याम्पिङ चौर र बाराहीघाटको जग्गा भाडामा उपलब्ध समेत गराइसकेको छ । त्यसका लागि आयोजकले भाडाबापत ११ लाख ५९ हजार रुपैयाँ समेत बुझाइसकेको छ । यसमा पोखरा महानगरसहित प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पनि पुस २१ मा सहमति दिएको थियो । प्रदेश र पालिकाको सहमति पाइसकेपछि आयोजकले कोटिहोमका लागि समिधा (दाउरा) संकलनको काम सुरु ग¥यो । समिधाका नाममा पोखराका १३, १४ र ६ मा ऐतिहासिक रुखहरू कटान भए । त्यसपछि नै कोटिहोमको चर्को आलोचना मात्र भएन, यस विषयमा आयोजक र महानगरबिच टकराव बढ्यो । आलोचना बढ्दै गए पछि महानगरले बोली फे¥यो । यद्यपि गत फागुन उच्च अदालत पोखराले कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न पोखरा महानगरपालिकालाई आदेश गरेको थियो । त्यसपश्चात अनुमति नदिइएको र कोटिहोम रोक्नका लागि जग्गा उपलब्ध गराएको ट्रस्टलाई सहमति रद्द गर्न कार्यपालिका निर्णय गर्दै पत्र पठायो । ट्रस्टले आफ्नो सम्पत्ति भाडामा लगाउन महानगरको अनुमति लिनु नपर्ने जवाफ दियो । त्यसपछि मेयर आचार्य आफैँ उच्च अदालत पोखरा पुगेका छन् । सोमबार उनले वारेसमार्फत फाउन्डेसनका संस्थापक विजय भण्डारीविरुद्ध उत्प्रेषण परमादेश मागसहित कोटिहोम नरोक्न उच्च अदालत पोखराले गरेको आदेश बदरको माग गरेका छन् ।

कोटीहोम र यसको आयोजना आफैमा पवित्र कुरा हो । यसमा सरकार, सरोकारवाला नागरिक सबैको पहल, साथ, सहयोग र समन्वय अपरिहार्य हुन्छ । तर, अहिले पोखरामा आयोजित कोटीहोम यसरी विवादित र आलोचित बनिरहेको छ कि यसले सिंगो हिन्दु धर्म, कोटीहोम र यसका संस्थापक बिजय कृष्ण मुर्तिलाई बदनाम बनाइरहेको छ । यतिबेला अदालतले कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न महानगरलाई अन्तरिम आदेश गरेको छ । र उक्त आदेश एकपक्षीय रहेको भन्दै मेयर आचार्यले अदालतले गरेको उक्त आदेश बदर मागसहित उच्च अदालतको ढोका धकधकाउन पुगेका छन् । अब अदालतले के आदेश गर्ला ? त्यो त विचाराधनी विषय भयो । तर, अहिले पोखरामा कोटीहोमका सन्दर्भमा जे जस्ता गतिविधि भइरहेको छ, त्यो शोभनीय छैन । बिजयकृष्ण मुर्ति जसरी पनि अहिलेकै स्थानमा कोटीहोम गर्ने अठोट र महानगर उक्त स्थानमा आयोजना गर्न नदिने हठले दुवै पक्षलाई राम्रो गर्दैन । यसको अदालतबाट भन्दा पनि दुवै पक्ष बसेर सामाजिक सद्भावलाई बढावा दिने गरी यथोचित कदम चाल्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *