कालीगण्डकी कोरिडोरले बागलुङमा संभावनाका ढोका खोल्दै

डम्मर बुढामगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोरले बागलुङलाई सिधै चिन र भारतसँग जोडेको छ । झण्डै १४ वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना अहिले धमाधम काम भइरहेको छ । कोरिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् ।

ग्रामीण क्षेत्रबाट झरेर कोरिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गैडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको कोरिडोर बागलुङ खण्डमा मात्रै ३४ किलोमिटर पर्छ । कोरिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रमा ठूलो परिर्वतन ल्याएको छ । बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटमा लगायतका बस्ती बस्न थालेको छ । कोरिडोर स्तरोन्नतिसँगै कालोपत्र हुँदै गएपछि सवारी साधानसमेत चल्न थालेका छन् ।

ग्रामीण क्षेत्रका नागरिकलाई अब बुटवल, भैरवाह लगायत देशका ठूला सहरसम्म पुग्न सहज भएको छ । कोरिडारमा यातायता संचालन हुन थालेपछि गाउँमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्न सहज भएको स्थानीय किसान श्रीसले बताउनुभयो । कोरिडोरको ट्रयाक वर्षौँ अगाडि खुलेपछि अहिले बल्ल स्तरोन्नति भएको भन्दै यसले गाउँलाई सिधा सहरसँग जोडेको उहाँको भनाइ छ ।

श्रीसले भन्नुभयो – “कालीगण्डकी कोरिडोरले त हाम्रो गाउँ ठाउँलाई सुगम बनायो, दिनानुदिन गाडी ओहोरदोहोर गर्छन्, यात्रुले यहाँ उत्पादन भका सामान किनेर लैजान्छन्, पहिले बुटवल, भैरवाह पुग्न एक दिन लाग्थ्यो भने अहिले चार÷पाँच घण्टामै पुग्न सकिन्छ, बुढापाकाहरु अहिलेको यो विकास देखेर दंग पर्छन्, कोरिडोरले यो क्षेत्रका नागरिकको जीवनशैलीनै बदल्न थालेको छ ।”

जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कोरिडोर संचालनमा आएपछि भारतीय पर्यटक बढ्न थालेको बताउनुभयो । भारतदेखि मुक्तिनाथ जाने धेरैजसो पर्यटक जैमिनी धामको दर्शन गरेर जाने गरेको भन्दै यसले आर्थिक चलायमान हुने उहाँको भनाइ छ ।

अब स्थानीय सरकारले पर्यटकीय तथा धार्मिक स्थलको प्रचारप्रसार गर्न सके बाह्य पर्यटकलाई तान्न सकिने थापाले बताउनुभयो । अहिले दैनिक बुटवलदेखि जैमिनीसम्म सिधा यातायात संचालन हुँदा सामान ढुवानी र यात्रा गर्न सहज भएको उहाँ बताउनुहुन्छ ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले दक्षिण बागलुङ समृद्धिसँग जोड्न कालीगण्डकी कोरिडोरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अब बागलुङका हरके नागरिक व्यापार र व्यवसायसँग जोडिए कोरिडोरबाट ठूलो लाभ लिन सकिने उहाँको भनाइ छ । अब किसानले उत्पादन गरेको तरकारी, फलफूल र अन्य वस्तु सहजै ठूला सहरमा पु¥याउन सकिने हुँदा उचित मूल्यसमेत पाउन सक्ने शर्माले बताउनुभयो ।

“कोरिडोर त बागलुङवासीका लागि वरदान सावित हुँदै गएको छ, हिँजो सुनसान रहेको ठाउँमा अहिले धमाधम बजार बस्न थालेको छ, एक दिन लगाएर पुग्ने ठाउँमा अहिले दुई÷चार घण्टामै पुग्न सकिन्छ” शर्माले भन्नुभयो – “यो रुट धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै संभावनाहरु जागृत भएका छन्, नगरपालिकाले पनि कोरिडोरबाट लाभ लिने गरि योजना बनाइ रहेको छ ।”

कोरिडोरले जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ क्षेत्र जोडेको छ । नवलपुरको गैडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको कारिडोर बागलुङको मालढुङ्गा २४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत छोट्याई दिएको छ । १४ वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *