मुलपानी दुग्ध सहकारीका सदस्यलाई सहकारी शिक्षा

आदर्श सञ्चार, बागलुङ
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले संघमा आवद्ध संस्थाका शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम शुरु गरेको छ ।

संघमा आवद्ध दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुलाई उत्पादन, प्रशोधन, बजारीकरणसंगै संघमार्फत दिइने सेवाका बारेमा सचेत बनाउनका लागि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ ।

दुग्ध उत्पादनका क्षेत्रमा सक्रिय कृषक शेयर सदस्यहरुलाई संघसंगको सम्बन्ध, सहकार्य तथा संस्था र सदस्यहरुको सक्रियता बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।

संघमा आवद्ध १५ वटा संस्थामा सञ्चालन गरिने सहकारी शिक्षा कार्यक्रम अन्तरगत पहिलो दिनको कार्यक्रम शुक्रवार मुलपानी दुग्ध उत्पादक सहकारी संस्था, बानपा–३, मुलपानीमा सम्पन्न भएको छ ।

दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध दुग्ध उत्पादक शेयर सदस्यहरुलाई उत्पादनका क्षेत्रमा देखिएका चुनौती, अवसर र सदस्यहरुको सक्रियतासंगै सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको भुमिका लगायतका विषयमा जानकारी गराउन लागिएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघमा आवद्ध १५ वटा संस्थाका शेयर सदस्यहरुले दैनिक रुपमा दुध विक्री गरेर आम्दानी गर्नुका साथै विमा तथा बचतको पनि काम गर्दै आउनुभएको छ, संघका अध्यक्ष गौतमले भन्नुभयो, कृषकहरुलाई दुध उत्पादन बढाउन थप प्रेरित गर्नका लागि संघले निरन्तर समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ ।

कार्यक्रममा प्रशिक्षक राम बहादुर जिसीले सहकारीमा सदस्यहरुको सक्रियता बढाउन आवश्यक रहेको बताउनुभयो । संस्थालाई कस्तो बनाउने भन्ने सदस्यहरुको हातमा छ, सदस्य हुने तर संस्थाले गरेको व्यवसायमा सदस्यको सहभागिता नहुने हो भने कुनै पनि सहकारी प्रभावकारी रुपमा अगाडि बढ्न सक्दैन, जिसीले भन्नुभयो, सदस्यहरु जति धेरै सक्रिय, सचेत र सहयोगी हुन्छन्, त्यति नै धेरै सहकारीहरु व्यवस्थित बन्दै जान्छन् ।

कार्यक्रममा संघको अवस्था, संघले सञ्चालन गर्दै आएका व्यवसायहरु, भोग्दै आएका चुनौती लगायतका विषयमा अध्यक्ष दिपक गौतम र सहकारीमा शेयर सदस्य र सञ्चालक तथा कर्मचारीको भुमिका लगायतका विषयमा जिसीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम मुलपानी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राम बहादुर हमालको अध्यक्षता, कोषाध्यक्ष अरुण गौतमको स्वागत र लेखा सुपरीवेक्षण समितिका संयोजक भूमिराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *