खेमराज गाैतम, बागलुङ
२०६७ सालमा बागलुङ नगरपालिका–५ मालिकाबाट तीन वटा भैसी लिएर बागलुङ बजारको उपल्लाचौर स्थित आमबोट झर्नुभएको नन्दलाल सापकोटा अहिले ४२ गाई भैसीको मालिक हुनुहुन्छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाको गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैसी फर्म’ स्थापना गर्नुभएको सपकोटा यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिदै आउनुभएको छ ।
निरन्तर पशुपालनमा लागेपछि एकदिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लाग्नुभएका सापकोटा बन्नुभएको छ ।
बागलुङ बजार छेउमै रहेको गाईभैसी फर्ममा अहिले दैनिक १६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गर्नुभएको दूध आफै बजारीकरण गर्दै आउनुभएको छ । साकोटाको गाईभैसी फर्ममा अहिले ३५ भैसी र ७ गाई रहेका छन् ।
“भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिए, त्यहीबाट मलाई गाईभैसीपालनमा चासो दिएको थिए, २०६७ सालमा जन्मथलो मालिकाबाट तीन वटा भैसी र एउटा गाई लिएर अमबोट आएको थिए, दुई ओटा भैसी थपेर फर्म स्थापना गरे, अहिले फर्मको पूर्वाधार सहित एक करोड लगानी पुगिसक्यो” सापकोटाले भन्नुभयो “निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी समेत दिन सफल भएको छु ।”
सापकोटाले गाई तथा भैसीको खरिद बिक्री समेत गर्दै आउनुभएको छ । उहाँको फर्ममा ५२ वटा सम्म गाई भैसी भएको सुनाउनुभयो । उहाँका दुई वटा ठूला गोठमा गाई भैसी रहेका छन् । दैनिक १६० लिटर दूध उत्पादन पश्चात बजारीकरण गर्दै आउनुभएका सापकोटाले मासिक पाँच लाख देखि ६ लाख सम्मको आम्दानी र मासिक एक लाख सम्म बचत गर्दै आएको बताउनुहुन्छ ।
पशुपालनमा आम्दानी भएपनि खर्च धेरै हुने उहाँको अनुभव रहेको छ । पशुपालनमा जोखिम समेत बढी हुनेभएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्रै सफल भइने सापकोटाको भनाई छ ।
“दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फर्मबाटै दुध बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पु¥याउदै आएका छौं, मैले ड्राई सिजनमा बढी दूध बिक्री गर्दै आएको छु” सापकोटाले भन्नुभयो “ भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रुपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजना मार्फत २०७३ सालमा रु. १० लाख अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिए, निरन्तरता भएमा सहयोग समेत आउछ, पछिल्लो समय फर्म स्थापनाका लागि गरिएका राज्यका प्रोत्साहनले सिकानहरु हौसिएपनि टिक्न नसकेको पाइयो ।”
उहाँले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिदा मात्रै वास्तविक किसानले लाभ लिने बताउनुभयो । उहाँले बागलुङ बजार सहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताउनुभयो । अहिले बजारमा दुधको मुल्य १२० प्रतिलिटर रहेको छ । रोजगारको शिलशिलामा १० वर्ष भारतको मेघालयमामा जानुभएका सापकोटा नेपाल फर्केर पशुपालनमा लाग्नुभएको थियो ।
“भारतमा नेपालीहरुले गाइपालेर दूध वेचेको देखे, अहिले गाईभैसीको खरिद बिक्री समेत गर्दै आएको छु, वर्षमा साढे दुई लाख त पशुको मल बिक्रीबाटै आम्दानी हुँदै आएको छ, विदेशमा गएका साथीहरुको देखेर भएन, नेपालमै बसेर मासिक एक लाख सम्म बचाउन सक्ने भनेको राम्रो कुरा हो, निरन्तरता दिएपछि जे काम गर्दापनि सफल भइन्छ” सापकोटाले भन्नुभयो ।
उहाँले तराईमा गाई र भैसीको उतपादनसंग यहाँका किसानले तुलना गर्दा धेरै फर्म बन्द भएको सुनाउदै तराईको तुलनामा यहाँको चिसो ठाउँमा दूध उत्पादन ३५ प्रतिशत कमी आउने बताउनुभयो । उहाँले पानी र विद्युतमा राज्यले किसानलाई हेरेर अनुदान दिन आवश्यक रहेको बताउनुभयो ।