डम्मर बुढा मगर, बागलुङ
शनिबार विहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जंगल, सडक र नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार विहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुन्द्री सतहदेखि तीन हजार १०० मिटरको उचाईमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार सयाैँ पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताउनुभयो ।
बाक्लो हिमपातका कारण ठूला सवारी साधान चल्न नसकेको उहाँको भनाइ छ । पर्यटकहरु मोटरसाइकल र पिकअप जिपमा घुम्न आएको घर्तीले बताउनुभयो । पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उहाँले जानकारी दिनुभयो । यस वर्ष दोस्रो पटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको घर्तीको भनाइ छ ।
उहाँले भन्नुभयो – “लामो समय खडेरी प¥यो, गर्मी सुरु हुने बेला हिउँ परेपछि टाढा–टाढाबाट हिउँ खेल्न सयौँको संख्यामा आन्तरिक पर्यटक यहाँ आएका छन्, अझै चार÷पाँच दिन हिउँ पग्लिदैन, हिउँ पग्लेर नसकिदासम्म यस्तै चाप हुन्छ, तीन वटै जिल्लाबाट घुम्न आउने पर्यटकले यति बेला पातीहाल्नेमा निकै रमाइलो भइरहेको छ ।”
बाक्लो हिउँ परेको हुँदा पातीहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन् । करिब आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ । हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न जानु भएका विकास क्षेत्रीले बताउनुभयो । उहाँले यसभन्दा अगाडि पनि साथीहरुसँग बर्खाको समयमा घुम्न आएको सुनाउँदै शनिबार सात जनाको समूह भएर हिउँ खेल्न पुगेको उहाँको भनाइ छ ।
“पहिले बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना निकै टाढा होला भन्ने लागेको थियो तर नजिक रहेछ, दुई घण्टामै यहाँ आउन सकिने रैछ, हिउँले पातीहाल्ने र माथिल्लो डाँडाहरु ढपक्क हिँउले ढाकिएको देख्दा निकै रमाइलो भयो” उहाँले भन्नुभयो – “हामीहरु बाइकमा गएका थियौँ, हिउँमा बाइक चिप्लिएर समस्या हुँदो रैछ, एकै दिन सयौँको संख्यामा मान्छेहरु हिउँ खेल्न पुगेका रैछन् ।”
एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा आएको छ । उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब १३५ किलोमिटर पश्चिममा पर्छ ।