अमेरिका, विश्वअर्थतन्त्र र खतरा

सम्पादकीय
पछिल्लो समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको एक पछि अर्को कदमले विश्व राजनीति र अर्थतन्त्र तरंगित छ । यसै साता मात्रै अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्की बिचको वार्तामा भएको बाझाबाझ र असमझदारी छताछुल्ल भयो । जुन घटनाको पक्ष बिपक्षमा देश र नागरिकहरु बिभाजित भइरहेका छन् । अर्कोतर्फ अमेरिकाले बिभिन्न देशलाई दिएको अनुदान सहयोग रोक्ने निर्णय गरेको छ भने अमेरिकामा आयातित हुने सामानमा थप कर लगाउने घोषणा गरेको छ । जस अनुसार अमेरिकाले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने निर्णय मंगलबारदेखि लागू भएको छ, जुन अमेरिकाका ठूला व्यापारिक घरानाले उत्पादन गरेको वस्तुलाई संरक्षण गर्ने असाधारण कदम हो । तर, यसले मुद्रास्फीतिले थलिएका उपभोक्तालाई ठूलो तनाव थपेको छ, साथै अमेरिकासहित उत्तर अमेरिकी अर्थतन्त्रलाई कमजोर पार्ने खतरा छ ।

युरोपियन देशबाट आयातित सामानमा कर बृद्धि गरेको अमेरिकाले अहिले सबै चिनियाँ आयातमा लाग्ने भन्सार करमा १० प्रतिशतबाट दोब्बर गरी २० प्रतिशत पु¥याएको छ । अमेरिकाको यो कदम लगत्तै चीन र क्यानडाले तुरुन्तै अमेरिकी सामानमा कर लगाएर प्रतिशोध लिइरहेका छन्, जसले गर्दा विश्व अर्थतन्त्रमा व्यापार युद्ध सुरु हुने खतरा बिद्यमान देखिएको छ । अमेरिकाले मेक्सिको, क्यानडा र चीनबाट आयात गर्ने प्रमुख सामानमा ताजा उत्पादन, कार र कारका पार्टपुर्जा र फोन र कम्प्युटर लगायत इलेक्ट्रोनिक्स समावेश छन्, जसमा अब २० प्रतिशतदेखि २५ प्रतिशतसम्म भन्सार लाग्नेछ । यो निर्णय सँगै मेक्सिकोमा प्लान्ट भएका विश्वव्यापी कार निर्माताको स्टकमा तीव्र गिरावट आएको छ । जर्मनीको फक्सवागन विहान ५ः४६ बजेसम्ममा लगभग ४५ ले घटेको छ भने क्रिसलर र जीप निर्माता स्टेलान्टिस लगभग ७५ ले घटेको छ । उसो त चीन र क्यानडाको जवाफी प्रहार पनि आएको खबर सार्वजनिक छ । चीनको वाणिज्य मन्त्रालयले ड्रोन निर्माता स्काइडियो सहित १५ अमेरिकी कम्पनीहरूलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा थपेको बताएको छ । क्यानडाले कर लागू हुनुभन्दा केही घण्टा अघि ओटावाले तुरुन्तै ३० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउनेछ । मार्च २५ सम्ममा क्यानडाले अमेरिकी सामानहरूमा थप १२५ अर्ब डलरको कर लगाउनेछ ।

ठुला शक्तिशाली देशहरु व्यापार युद्ध र टकरावमा छन् । यसले नेपाल जस्ता देशहरु थप संकट र सकसमा पर्ने खतरा बढ्दो छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भए पनि सनकी शासक हुन् । ट्रम्पले अझै धेरै कर लाग्ने संकेत दिइरहेका छन् । चीन, अमेरिका, क्यानडा लगायतको वर्तमान असमझदारी नियन्त्रण भन्दा बाहिर गएको खण्डमा अन्तर्राष्ट्रिय व्यापारको प्रणालीमै ठुलो हलचल हुने खतरा छ । त्यसले विश्व व्यापारका उत्प्रेरकका रूपमा लिइने आपूर्ति र विनिमयका समग्र श्रृखंलालाई नै भत्काइदिनेछ । त्यसबाट पैदा हुन जाने घातक परिणाम केबल अहिले चर्चामा रहेका अमेरिका, चिनियाँ, क्यानडा लगायतका देशको अर्थतन्त्रमा मात्रा सीमित रहने छैन । यसले विश्वव्यापी रुप धारण गर्नेछ । त्यस बेलाको अवस्था ज्यादै भयावह हुनेछ । नेपालले यी र यस्ता घटना र परिदृश्यबाट समयमै पाठ सिकोस् । र देशलाई सबल, आत्मनिर्भर बनाउन सरकार, सरोकारवालाले पहल र नेतृत्व लिन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *