डम्मर बुढामगर, बागलुङ
समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक सुन्दरताले भरिएको छ । अझ यहाँबाट देखिने अनगिन्ती दृश्यले धेरैलाई मोहित पार्छ । उत्तर तिर सेताम्य दाँत देखाएर हाँसेझै देखिने हिमश्रृङ्खला, लालिगुराँस फुलेर रातम्या बनेका जंगल र अग्ला पहाड अवलोकनका लागि थामचौर उत्कृष्ट गन्तव्य हो ।
भौगोलिक विकटताका कारण अहिलेसम्म ओझेलमा रहेको थामचौरमा पछिल्लो समय छाट्टफुट्ट आन्तरिक पर्यटक पुग्न थालेका छन् । मध्यपहाडी लोकमार्गको भिमगिठे बजारदेखि करिब १३ किलोमिटर उत्तरमा रहेको थामचौर पुग्न सडक मार्गको सुविधा भए पनि व्यवस्थित बन्न सकेको छैन । शान्त वातावरण, स्वच्छ हावा र चराचुरुङ्गीको चिरविर आवाजले पर्यटकको थकान मटाउँछ ।
बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे बजारको शिरमा अवस्थित थामचौरमा गाडी र पदैल यात्रा दुवै तरीकाले पुग्न सकिन्छ । भिमगिठेदेखि डाँडागाउँ, माझखर्क, असारेगाउँ छिचोल्दै थामचौर पुग्ने सडक केही अप्ठ्यारो हुँदा यात्रा नभए पनि थामचौर पुगेपछि यहाँको सुन्दरताले पर्यटकको थकान सहजै मेटाई दिन्छ । आँखै अगाडि देखिने हिमाल, अनगिन्ती अग्ला पहाड र मनै फुरुङ्ग बनाउने विभिन्न प्रजातिका फूलहरुले पर्यटकलाई स्वागत गरि रहेका छन् ।
थामचौरबाट धौलागिरिसहित आधा दर्जन हिमाल, ढोरपाटन, निसीखोला, बडिगाड, गुल्मी, प्युठान, रोल्पा, रुकुम लगायत थुप्रै ठाउँहरु एकै स्थानबाट सहजै देख्न सकिन्छ । त्यति मात्रै होइन विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु पनि नजिकैबाट देख्न सकिन्छ । अग्लो स्थानमा रहेको थामचौरलाई हिमाल, वन जंगल, खोलानाला, खोँच र बस्ती अवलोकन गर्ने भ्यूटावरका रुपमा लिइन्छ ।
पर्यटकले गाउँले जनजीवनको स्वादन गर्दै थामचौर पुग्न सक्छन् । असारे र माझखर्क गाउँका सहयोगी र दयालु भावका स्थानीय पर्यटकलाई स्वागत गर्न आतुर छन् । घुम्न आउने पर्यटकलाई उनीहरुले आँटो, ढिडो, लोकल कुखुरा, बोकाको मासु, मकैको रोटी लगायतका स्थानीय परिकारले खुवाउने गर्छन् । एक दकश अगाडिसम्म गुमनाम जस्तै रहेको थामचौर पछिल्लो समय विस्तारै चर्चामा आउँदैछ । पर्यटकका लागि गाउँपालिकाले केही पूर्वाधार निर्माण गरि रहेको छ ।
विशाल समथर मैदानमा फैलिएको थामचौरमा बडिगाड गाउँपालिकाले शार्वजनिक शौचालय, पोखरी, मन्दिर र पर्यटकका लागि बस्ने ट्रस्ट भवन निर्माण गरेको छ । विस्तारै पूर्वधार निर्माण हुँदै गएपछि स्थानीयले प्रचारप्रचारलाई तीव्रता दिनु पर्नेमा जोड दिएका छन् । बडिगाड गाउँपालिका–७ का स्थानीय रेखीराम बुढाले दशक अगाडि गाउँलेले वस्तुभाउ चरन क्षेत्रका रुपमा प्रयोग गर्ने स्थल अहिले पर्यटक आउने ठाउँ बन्न थालेको बताउनुभयो ।
थमचौरमा समय–समयमा बागलुङ र गुल्मीको विभिन्न स्थानबाट वनभोजका लागि पर्यटक आउने गरेको उहाँको भनाइ छ । हरेक वर्ष नयाँ वर्ष र होली पूर्णमाका दिन एक हजार बढी पर्यटक यहाँ आउने बुढाले बताउनुभयो । बाह्रै महिना पर्यटक भित्राउनका लागि राज्यले व्यवस्थित सडक निर्माण गर्नुका साथै प्रचारप्रसार गर्नु पर्ने उहाँको भनाइ छ ।
बुढाले भन्नुभयो – “थामचौरमा पर्यटक आउन थाले भने गाउँबाट बसाइँसराइ रोकिने थियो, स्थानीयले होटल तथा घरबास संचालन गरेर आयआर्जनसँग जोडिने थिए, यस ठाउँमा खानेपानीको सुविधा छैन, राज्यले खानेपानी व्यवस्थापन गर्न जरुरी छ, घुम्न आउने पर्यटकलाई दुई÷चार दिन खान बस्नको सुविधा दिन हामीहरु सक्छौँ ।”
यो सिजन चारै तिर लालिगुराँस फुल्ने हुँदा धेरैको नजरमा थामचौर पर्ने गर्छ । हिमाल, वन जंगल र वन्यजन्तु र पहाडसँग रमाउने पर्यटकका लागि थामचौर आकर्षक गन्तव्य हो । काठेखोलाबाट थामचौर घुम्न पुग्नु भएका महेन्द्र कँडेलले सडकलाई फराकिलो र साना गाडी संचालन हुने गराउन सके आन्तरिकसहित बाह्य पर्यटक भित्राउन समस्या नभएको बताउनुभयो ।
“म यहाँ पहिलो पटक आएको हुँ, बाटोमा आउँदा केही असहज भए पनि आइसकेपछि यहाँबाट देखिने दृश्यले त्यो डर र थकान एकैछिनमा मेटियो,” उहाँले भन्नुभयो – “यहाँको बस्ती पनि मिलेको, बस्ती नजिकै यति सुन्दर ठाउँ जहाँतहीँ भेटिदैन, थामचौरे ठूलो संभावना बोकेको छ, भौतिक पूर्वाधारसँगै अन्य विकासमा जोड दियो भने भविष्यमा उत्कृष्ट गन्तव्य बन्ने निश्चित देखियो ।”
मध्यपहाडी लोकमार्गको भिमगिठे बजारबाटबाट गाडीमा ४५ मिनेट र करिब तीन घण्टाको पैदल यात्रामा थामचौर पुग्न सकिन्छ । बडिगाडले थामचौरलाई प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । हालसम्म पालिकाले करिब ५० लाखको हाराहारीमा पूवर्धार निर्माण खर्च गरेको उहाँको भनाइ छ । भौगोलिक कठिनाईका कारण सडकलाई व्यवस्थित बनाउन नसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष अधिकारीले भन्नुभयो – “पालिकाको बजेटले मात्रै थामचौरसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन सक्ने अवस्था छैन, यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नु पर्छ, यद्यपी पालिकाबाट पनि धेरै लगानी गरेर अहिले पर्यटक आवतजावत गर्न सक्ने सडक बनाएका छौँ, यत्ति सडकलाई ग्राभेलसम्म गर्न पाए यहाँ पर्यटकको आगमन बढ्ने थियो ।”