आदर्श, सञ्चार बागलुङ
धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि. बागलुङले संचालन गरेको विद्युतिय माईक्रो बस (‘इभी’ गाडी) को भाडादर समायोजन गरेको छ । प्रालिले बागलुङ –पोखरा विद्युतिय माईक्रो बस संचालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो । यस अघि लिँदै आएको भाडाँमा ५० रुपैयाँ घटाएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए । हाल ४५० रुपैयाँ भाडा दर रहेकोमा चैत्र १ गते देखी बागलुङ–पोखरा ४०० रुपैयाँ लागु हुनेछ । त्यसैगरी म्याग्दी–पोखरा पनि ५५० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ भाडादर कायम गरिएको अध्यक्ष केसीले बताए ।
बागलुङ–पोखराका लागि गत वर्ष फागु पुर्णिमाकै दिन विद्युतिय माईक्रो बस सेवा संचालन गरिएको थियो । सुरुवाती चरणमा दुई वटा बस बाट सेवा संचालन गरेको बागलुङ–पोखराका लागि हाल २० वटा माईक्रो बस संचालनमा आएका छन । प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि ५ वटा बस संचालन गरेको छ भने बागलुङ– नारायणगढका लागि पनि ५ वटा बस संचालनमा ल्याएको प्रा.लिका संचालक उमाकन्त शर्मा बाबुले जानकारी दिए ।
विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालिले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युतको प्रयोग हुने हुँदा यो यात्राका लागि पनि सहज र सस्तो हुने शर्मा बताउछन् । विद्युतिय माईक्रो बसले पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसा समेत जोगिनेछ, चार्जिङका लागि पनि बागलुङका विभिन्न ठाउँमा व्यवस्थापन गरिएको प्रा.लीले जनाएको छ ।